हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बिदेशीहरुको ग्राइण्ड डिजाईन अनुसार नेपाललाई धार्मिक, सांस्कृतिक उपनिवेश बनाउनको निमित्त धर्म निरपेक्षता लादिएको दावी गर्नुभएको छ । हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै थापाले २०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफू गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पार्नुभयो ।
हिजो क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन्, बन्दुक बोक्नेहरु कहाँ छन् भनी प्रश्न गर्नुहुँदै अध्यक्ष थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको बताउनुभयो । एकआपसमा सर्वसत्तावादीको आरोप प्रत्यारोप गर्ने कम्युनिष्टहरुले हिजो राम्रो बीउ रोप्न नसकेको चर्चा गर्नुहुँदै थापाले धतुरो रोपेर आँप नफल्ने तर्क गर्नुभयो । २०६२/६३ पछिको परिवर्तनको मार्गचित्र त्रुटिपूर्ण भएको भन्नुहुँदै थापाले यो सच्याउने हिम्मत र साहस गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
एउटा राजा हटाएर सैयौं राजा जन्माउने व्यवस्था र प्रणाली अब चल्न नसक्ने थापाको दावी थियो । लोभ, लालच र प्रलोभन दिई योजनाबद्ध रुपमा गाउँका गाउँ धर्म परिवर्तन गराउने कार्यप्रति थापाले कडा आपत्ति जनाउनुभयो । कार्यक्रममा बोल्दै पार्टीका कार्यसम्पादन समिति सदस्य मधु अधिकारीले अदूरदर्शी, असक्षम र भ्रष्ट नेतृत्वबाट मुलुक अघि बढ्न नसक्ने भन्दै राप्रपालाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नेताहरु नवराज बिष्ट, रामहरी न्यौपाने, गुरुप्रसाद सापकोटा, इन्दिरा डल्लाकोटी, शुक्र प्रजा, रामहरी खतिवडा, कृष्ण प्रसाद घिमिरे लगायतले बोलेका थिए ।