हेटौंडाः भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआइएन) मकवानपुरका कार्यक्रम संयोजक प्रमिला थिङले मकवानपुरका सार्वजनिक कार्यालयहरुले सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग गर्ने नगरेको बताउनुभएको छ ।

सोमबार मकवानपुरका पत्रकारहरुसँग कुरा गर्नुहुँदै उहाँले जिल्लाका १२ सार्वजनिक कार्यालयको अनुगमन गर्दा नागरिक वडापत्र, सूचनापाटी, सूचना अधिकारी, गुनासो पेटिका, निर्माणस्थलमा जानकारीसहितको होर्डिङ बोर्ड, आईटीसी सामग्री प्रकाशन, नियमित सार्वजनिक सुनुवाई हुने गरेको पाइएको बताउनुभयो । अनुगमन गरिएका सबै कार्यालयमा नागरिक वडापत्र र सूचनापाटी रहेको तथा सूचना अधिकारी तोकिएको पाइएको जानकारी दिनुभयो । सबै कार्यालयले त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको पनि कार्यक्रम संयोजक थिङले बताउनुभयो ।

तर, जिल्ला समन्वय समिति (जिसस)मा भने गुनासो पेटिका नभएको उहाँले बताउनुभयो । कार्यक्रम संयोजक थिङले टीआइएनले अध्ययन, अनुगमन गरेपछि सरकारी निर्माणस्थल तथा विद्यालय भवन निर्माणस्थलमा सरकारी तवरबाट जानकारीसहितको होर्डिङ बोर्ड राख्ने कार्यको सुरुवात भएको बताउनुभयो । टीआइएनले २०७२ सालको भूकम्पबाट बढी क्षति भएका मकवानपुरसहित १४ जिल्लामा सार्वजनिक कार्यालयहरुको सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगसम्बन्धी फलोअप गरेको थियो ।