हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले गत मंसिर महिनामा एक सय ५४ वटा उद्योग दर्ता गरेको छ । कार्यालयले घरेलु तथा साना उद्योग तथा अन्य व्यावसायिक फर्महरु दर्ता, नवीकरण, नामसारी, ठाउँसारी तथा खारेजी गर्ने कार्य गर्दै आएको छ ।
गत मंसिर महिनामा कार्यालयले ९० वटा पसल दर्ता, एक सय वटाको नवीकरण तथा एक सय १० वटा पसल खारेज गरेको छ । यस्तै, मंसिर महिनामा एक सय ५४ वटा उद्योग दर्ता गरेको कार्यालयले ८१ वटा उद्योग नवीकरण गरेको छ । कार्यालयले १६ वटा उद्योगको नामसारी, ३ वटाको ठाउँसारी, ७ वटा खारेज र १८ वटाको प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका उद्योग अधिकृत जगन्नाथ दाहालले जानकारी दिनुभयो । कार्यालयले मंसिर महिनामा २ करोड राजश्व संकलन गरेको दाहालले बताउनुभयो ।
कृषि, पशुपालन, होटल, टेलर, फर्निचरजस्ता ५ लाखदेखि ५ करोड रुपैयाँसम्म स्थिर पुँजी लगानी भएका उद्योग, व्यवसाय खोल्न घरेलु तथा साना उद्योग कार्यालयले अनुमति दिने गरेको छ । कार्यालयले विभिन्न विषयमा सीपमूलक तथा आयमूलक तालिम प्रदान गर्दै आएको कार्यालयका उद्योग अधिकृत दाहालले जानकारी दिनुभयो । कार्यालयले समयसमयमा विभिन्न उद्योग प्रतिष्ठान तथा बजार अनुगमन र निरीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो ।