हेटौंडाः प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोट खेलमा सोमबार मकवानपुर पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा मकवानपुर काठमाडौंसँग पराजित भएको हो । अन्तिम खेलमा पराजित भएसँगै मकवानपुर समूह चरणबाटै बाहिरिएको छ ।
टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले २८ ओभरमा अलआउट हुँदै ७२ रन मात्रै बनाउन सक्यो । मकवानपुरका लागि गौरव खड्काले १५ रन र युवीन बुढाथोकीले १० रन लिने बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । ७३ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले १७ औं ओभरमै लक्ष्य भेट्टायो । जीतसँगै काठमाडौं फाइनलमा प्रवेश गरेको छ । फाइनलमा काठमाडौंले चितवनसँग खेल्नेछ । फाइनल खेल मंगलबार हुनेछ ।