हेटौंडाः कारको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको एउटा वयस्क बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको सुजुकी कारको ठक्करबाट शनिबार बिहान साढे ७ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–१, आधाबारमा बाघको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको कारले बाक्लो हुस्सुका कारण अगाडिको बाघलाई नदेख्दा दुर्घटना भएको हो । प्रहरीले चालक र कार दुबै निकुञ्जको जिम्मा लगाएको छ । चालक सर्लाही जिल्लाको बलारा नगरपालिका–१ का अजय मिश्रा रहेको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।