हेटौंडाः बागमती प्रदेश सरकारद्वारा मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन हुने खाद्यान्न तथा तरकारीबालीको ब्लक क्षेत्र निर्धारण गरिएको छ । मंगलबार बसेको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिले जिल्लामा चालु आर्थिक वर्षमा सञ्चालन हुने खाद्यान्न तथा तरकारीबाली ब्लक क्षेत्र निर्धारण गरी सिफारिस गरेको हो ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख एवम् जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका विभिन्न पालिकाबाट छनौटमा परेका ब्लक साझेदार कृषि सहकारी/कृषक समूह र फर्महरुलाई बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा छनोटका लागि सिफारिस गरिएको हो । बैठकले जिल्लाका ७ पालिकामा कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गर्नुका साथै एउटा पालिकामा ब्लक क्षेत्र परिमार्जनका लागि सिफारिस गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकले मकै आलु, तरकारी तथा अदुवा खेतीका लागि ब्लक क्षेत्र निर्धारण गरेर सिफारिस गरेको हो ।
बैठकले जिल्लाको हेटौडा उपमहानगरपालिकाको १२ नम्बर वडास्थित गुप्तेश्वर सहकारी संस्थालाई मकै खेतीका लागि छनौट गरेको छ । यस्तै, थाहा नगरपालिका ३ नम्बर वडास्थित शुभारम्भ कृषक सहकारी संस्थालाई आलु खेती, मनहरी गाउँपालिका–६ स्थित दीपज्योति सामाजिक आर्थिक विकास कृषक महिला समूहलाई तरकारी, राक्सिराङ गाउँपालिका–४ स्थित राक्सिराङ कृषि एण्ड पशु फर्म प्रालिलाई अदुवा खेतीका लागि ब्लक क्षेत्र निर्धारण गरेको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो ।
यस्तै, जिल्लाको कैलाश गाउँपालिकाको महिला कृषक समूहलाई अदुवा, बागमती गाउँपालिका–८ स्थित नवज्योति कृषि सहकारी संस्थालाई मकै र बकैया गाउँपालिका–४ स्थित छतिवन कृषि सहकारी संस्थालाई तरकारी खेतीका लागि छनौट गरिएको हो । जिल्लाको ईन्द्रसरोवर गाउँपालिकामा तरकारी खेती ब्लक क्षेत्र कार्यक्रम परिमार्जन गरेर सिफारिस गरिएको उहाँले बताउनुभयो । प्राविधिक टोलीहरुबाट स्थलगत अनुगमनपछि ठाउँ निर्धारण गरिएको जिसस प्रमुख खुलालले बताउनुभयो ।