हेटौंडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरको आयोजनामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिव दयाल यादवको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समवन्य समिति मकवानपुरका उपप्रमुख भगवती पुडसैनीको प्रमुख आतिथ्य थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लीला गौतम, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, विशालकुमार शर्मालगायतको आतिथ्यता थियो ।
कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले सामजिक, सांस्कृतिक तथा राजनीतिक परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै सेवा निवृत्त भएर पनि सामाजिक सेवामा केन्द्रित हुनुभएकोमा खुशी लागेको बताउनुभयो । उमेरले ६०–७० वर्ष भएपनि काम गर्ने सोच, जोश जाँगर र सामजिक सेवामा निरन्तर लाग्नुभएका शिक्षकहरुबाट अरुले पनि पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो ।
साहित्य रचनामा पनि निवृत्त शिक्षकहरुलाई केन्द्रित हुन अनुरोध निवृत्त शिक्षक समाजले आवधिक रुपमा पुस्तक प्रकाशन गरेमा धेरै मानिसलाई सामाजिक कार्यमा लाग्न प्रेरणा मिल्ने भन्दै जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख पुडासैनीले सरकारले पनि निवृत्त शिक्षकहरुमा भएको अनुभव, सीप, क्षमता र दक्षतासँग आवश्यक सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ मकवानपुर अध्यक्ष जिधराज ढकालले भेलाबाट गठन हुन लागेको समाजको नगर समितिलाई शुभकामना दिँदै शैक्षिक क्षेत्रलाई पेसागत क्षेत्रको रुपमा नलिई सामाजिक सेवाको रुपमा ग्रहण गर्नुहुन अनुरोध गर्नुभयो । सरकारले पनि शिक्षकहरुले सिकेका सीप, क्षमता र अनुभवहरु ग्रहण गरी अघि बढ्न सकेको खण्डमा मात्रै शिक्षा, स्वास्थ्य, कृषि, वनलगायत क्षेत्रमा विकास गर्नसक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले नेपाल निवृत्त शिक्षक समाजलाई सफल बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले संस्थाले गरेका हरेक गतिविधिमा आफूपनि सहभागी हुने गरेको भन्दै शिक्षकहरुलाई पनि निजामती कर्मचारीजस्तै सेवासुविधाको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा निवृत्त शिक्षक विशालकुमार शर्माले आफूले विगतदेखि शिक्षकहरुको हकहितको कुरा उठाउँदै आएको भन्दै नेपाल निवृत्त शिक्षक समाजले पनि राजनीति आस्थाबाट टाढा रहेर संस्थालाई अघि बढाउन शुभकामना दिनुभयो । उहाँले राज्य चलाउन कुनै पनि नेताको कुनै योग्यता, उमेरको हदबन्दी हुनुनपर्ने तर शिक्षक, कर्मचारीमा मात्र यो नियम लागू हुनु र सरकारी निकायहरुमा आफूहरुभन्दा कम योग्यता र क्षमता भएको मानिसहरुले कब्जा जमाएर बस्नु विडम्बना रहेको बताउनुभयो । उहाँले कुनै पनि शिक्षकलाई शोषण हुनु हुँदैन भन्दै शिक्षक पनि मिलेर एकसाथ भई निष्पक्ष र स्वतन्त्र भई नराम्रो कामहरुको विरुद्ध सामूहिक आवाज उठाउनुपर्ने बताउनुभयो ।
भेलाले सीताराम दाहालको नेतृत्वमा ७ सदस्यीय नेपाल निवृत्त शिक्षक समाज नगर समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा रोमबहादुर न्यौपाने र राधा शर्मालाई चयन गरेको छ भने सचिवमा कृष्णप्रसाद पोखरेल, सहसचिवमा दुर्गाप्रसाद कोइराला, कोषाध्यक्षमा होमनाथ गौतम र सदस्यमा रामप्रसाद यादवलाई चयन गरेको छ ।
कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिव दयाल यादवले नवगठित नगर समितिका पदाधिकारीहरुलाई बधाई एव्म शुभकामना दिँदै नगर समिति निर्माणले जिल्ला समितिलाई काम गर्न थप सहज हुने बताउनुभयो । उहाँले माघ १८ गते जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न गाउँपालिका र हैटौंडा उपमहानगरपालिकाका निवृत्त शिक्षकहरुको उपस्थिति थियो ।