मकवानपुरका हेटौंडास्थित साहित्यिक संघ, संस्थाको एक भेलाले लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा भीमफेदीमा स्थापना गरिने ।

हेटौंडाः मकवानपुरका लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा भीमफेदीमा स्थापना गरिने भएको छ । लोककवि गणेशलाल श्रेष्ठको जन्मथलो भीमफेदीमा प्रतिमा स्थापनाका लागि शनिबार विष्णुगोपाल महर्जनको संयोजकत्वमा समिति गठन गरिएको छ । साहित्यिक संघ, संस्था तथा गणेशलाल श्रेष्ठका बारेमा जानकार व्यक्तिहरुको एक भेलाले शनिबार समिति गठन गरेको हो ।

अग्रज साहित्यकार तुल्सी थापाको समन्वयमा एक भेलाले विष्णुगोपाल महर्जनको संयोजकत्वमा समिति गठन गरिएको हो । काठमाडौंमा रहेर विभिन्न पेशा, व्यवसायमा आवद्ध मकवानपुरेले लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा निर्माण गरिसकेका छन् । भीमफेदी गाउँपालिकासँग समन्वय गरेर उपयुक्त स्थानमा प्रतिमा स्थापनाका लागि समन्वय समिति गठन गरिएको साहित्यकार तुल्सी थापाले जानकारी दिनुभएको छ । छिट्टै भीमफेदी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसँग भेटेर प्रतिमा कहाँ राख्ने भनी निश्चित गरिने र त्यसका लागि समितिले तयारी गर्ने साहित्यकार थापाले जानकारी दिनुभएको छ ।