हेटौंडाः पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईको चौथो अधिवेशन शनिबार भएको छ । संघका अध्यक्ष भोजराज ढकालको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरु अशोक शाक्य, राजीव सुवेदी, क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायको पनि उपस्थिति रहेको थियो ।

अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले मकवानपुर क्याम्पसमा बीबीएमा विद्यार्थीको कोटा थप गर्न विश्वविद्यालयसँग अनुमति लिने काम भएको जानकारी दिनुभयो । यस्तै उहाँले क्याम्पसले स्नातक तहमा कानून संकाय सञ्चालनका लागि पनि विश्वविद्यालयमा प्रस्ताव पेश गरिएको जानकारी गराउनुभएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयनका लागि आगामी शनिबार निर्वाचनको कार्यक्रम गर्ने जनाएको छ । ११ सदस्यीय कार्यसमितिका लागि १४ जनाले उम्मेदवारी दिएको संघका अध्यक्ष भोजराज ढकालले जानकारी दिनुभएको छ । तीन सदस्यी निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएर निर्वाचनको कार्यक्रम आगामी शनिबार सञ्चालन गर्ने जनाएको छ ।