हेटौंडाः बागमती प्रदेश सरकारका ३ जना मन्त्रीले राजीनामा दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा स्पष्टरुपमा विभाजित भएसँगै माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिनुभएको हो ।
शुक्रबार बिहान प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएलगत्तै मन्त्रीहरुले संयुक्त रुपमा राजीनाको घोषणा गरेका हुन् । उनीहरुले प्रदेशसभा परिसरमै राजीनामा घोषणा गरेका हुन् । संयुक्त राजीनामा पत्र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले वाचन गरेर सुनाउनुभएको थियो ।
मुख्यमन्त्री दिशाविहिन, निर्णयविहिन रहेको, प्रदेश सरकारका मन्त्रीको सल्लाह, सुझाव एवम् पार्टीको संसदीय दलको सल्लाह, सुझावलाई बेवास्ता गर्दै जनअपेक्षाअनुसार काम हुन नसकेको आरोप संयुक्त राजीनामा पत्रमा उल्लेख छ । मुख्यमन्त्री डोरमणि पौडेलकै कारण प्रदेश सरकार जनताप्रति जवाफदेही हुन नसकेको निष्कर्षसहित राजीनामा दिएको मन्त्रीहरुले उल्लेख गरेका छन् ।