हेटौंडाः नवलपरासीपूर्व गैंडाकोट नगरपालिका–३ भोक्रोफाँटमा कालीगण्डकी करिडोरको ट्रक दुर्घटना हुँदा हेटौंडाका दुईजनासहित तीन जनाको मृत्यु भएको छ । नवलरासीपूर्व गैंडाकोट ३ भोक्रोफाँटस्थित २६ किलोमिटरको पहरामा ना ३ ख ५३३९ नम्बरको लरी प्लेटफर्म टेलर बुधबार बिहान भीरबाट खसेको हो ।
बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गरेको लरी भीरबाट झण्डै एक सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा–१७ का ४५ वर्षीय सुरेश भुजेल र ३५ वर्षीय बलराम श्रेष्ठ तथा पर्सा ठोरी गौतमनगरका ५० वर्षीय भीमबहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले स्थानीय र डोरीको सहायतामा भीरमा रहेको शव निकालेका थिए । दुर्घटनास्थलमा गाडी टुक्रा टुक्रा भएर उछिट्टिएको छ ।
स्थानीयको सहयोगमा घटनास्थलबाट शव उठाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलरासीपूर्वका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घटनास्थल पूर्व पश्चिम राजमार्गको गैंडाकोटबाट करिब ३५ किलोमिटर उत्तरमा पर्दछ ।