सङ्कट, विजय हारले षड्यन्त्रित
अनि नियतिले जुराएको
यो दुईदिने जीवन
भर्खरै जन्म लिएको
बालकले भविष्यमा असल
कर्म गर्नेछु
भनी आफैंसँग लिएको वचनको
साक्षी बन्न पुगेको जीवन
थुप्रै जीवनोपयोगी
ज्ञान, शिक्षा एवम्
सिकाइले बाटो हेर्दै
प्रतीक्षामा बसेको
यो सुन्दर अनि
सुमधुर जीवन
तर यही जीवनमा
सुख, हर्षोल्लास र उमङ्ग
क्षणभरिको आँशु पो हुने रहेछ
भनी बल्ल बुझ्दै छु म
ठुल्ठूला पहाडसरी
चोटको सामना गर्न
बाँकी रहेछ भनी
मनन् गर्दै छु म
ती ओठका मुस्कानको
सुन्दरतामा
कालो र अँध्यारो ग्रहण
लगाउन पिपासुहरु
वरिपरि घमण्ड, छल, कपटको
नारावाजी गर्न
आउँदै छन्
मनमा कालो दाग
बोकी हिँड्नेहरु झन् झन्
शक्तिशाली हुँदै छन्
अझै कति अमानवीय व्यवहार हुन
बाँकी छन् भनी
चारैतिर कहाली लाग्ने
त्रसित वातावरण छाउँदै छ
यो सुन्दर हँसिलो
जीवनमा कुकर्म,
अधर्म आखिर केका लागि ?
विश्वकै सर्वमान्य र
बुद्धिजीवी कहलिएकाहरु नै
बेसर्मी र पशुसरह
किन बन्दै छन् ?
हरपल यही प्रश्नहरु ती कोमल
अनि दयालु आँखाहरुमा
देख्छु म
तर अफसोच
उत्तरको आशा भने कसैमा देख्दिन ।।