हेटौंडाः मकवानपुर जिल्लामा हालसम्म कति सीसीटिभी क्यामेरा जडान गरियो ? यो कुनै अनौठो प्रश्न होइन, तर यसको जवाफ मकवानपुरका कुनै निकायसँग छैन । हालसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रत्यक्ष निगरानी गर्दै आएको सीसीटिभी क्यामेराबाहेक जिल्लामा के कति जडान गरियो त्यसको कुनै तथ्यांक छैन । मकवानपुर प्रहरीले पनि मातहतका युनिटहरुमा कति सीसीटिभी क्यामेरा छ भन्ने यकिन तथ्यांक दिनसक्ने अवस्था छैन ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लामा जडान गरिएको सीसीटिभी क्यामेराको जानकारी नजिकैको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा अनिवार्य दिन सूचना जारी गरे पनि पूर्णरुपमा तथ्यांक भने आएको छैन । करिब ३ साताअघि १५ दिनको समयसीमा तोकेर नजिकैको प्रहरी वा प्रशासनलाई जानकारी गराउन भनेपनि अझै पूर्ण तथ्यांक नआएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा मदन श्रेष्ठले सूचना जारी भएपछि हालसम्म हेटौंडा उपमहानगरपालिकाबाट ४४ वटा, भीमफेदी गाउँपालिकाबाट एक, ईन्द्रसरोबर गाउँपालिकाबाट एक र बकैया गाउँपालिकाबाट १ वटामात्रै सीसीटिभी जडान भएको जानकारी आएको बताउनुभयो । यद्यपि नयाँ जडान गरेकाहरुले पनि प्रशासनमा जानकारी गराउन फाट्टफुट्टमात्र आइरहेको श्रेष्ठले बताउनुभयो ।

सीसीटिभी जडान गरेको १५ दिनभित्र नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्ने भएपनि हालसम्म जिल्लाको थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिकालगायतका स्थानीय तहहरुले जानकारी गराएका छैनन् ।

मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाको बजार क्षेत्रमा १६ वटा सीसीटिभी क्यामेराको प्रहरीले मनिटरिङ गर्ने भएपनि हाल १२ वटा क्यामेरामात्रै सञ्चालनमा छ । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले सीसीटिभी क्यामेरा जडान भएको जानकारी संकलन भइरहेको बताउनुभयो । मनहरी गाउँपालिकामा अनुमानित १ सय ५० वटा सीसीटिभी जडान गरिएको हुनसक्ने उहाँले बताउनुभयो । अबको केही दिनमै सबै तथ्यांक आउने उहाँले बताउनुभयो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानरपालिका क्षेत्रभित्रै ४५ वटा सीसीटिभी जडान भएको जनाएको छ । जसम्मध्ये ४० वटामात्र सीसीटिभी सञ्चालनमा रहेको र प्रहरीले मनिटरिङ गर्दै आएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुर जिल्लामा कति सीसीटिभी जडान गरियो भन्ने तथ्यांक छैन । यसका लागि तथ्यांक संकलन कार्य भइरहेको उहाँले बताउनुभयो । सीसीटिभी जडान गर्ने व्यक्ति, संघसंस्थाले जडान भएको १५ दिनभित्र प्रहरीमा जानकारी गराउनुपर्नेमा हालसम्म त्यसो नभएकोले पूर्ण तथ्यांक आउन नसकेको उहाँको भनाई छ ।

सीसीटिभी क्यामेरा ब्यापारिक केन्द्रहरु बैंक, वित्तीय संस्था, उद्योग प्रतिष्ठान, सपिङ मल, होटल, गरगहना पसलहरुमा सुरक्षाको लागि जडान गरिँदै आएको छ भने सार्वजनिक प्रयोगअन्तर्गत् नागरिकको जिउधनको रक्षा गर्न, सरकारी सम्पत्तिको सुरक्षा गर्न, सांस्कृतिक सम्पदाको सुरक्षा गर्न, कारागारको सुरक्षामा, कुटनीतिकलगायको सुरक्षामा सीसीटिभी क्यामेराको प्रयोग हुँदै आएको छ । यस्तै व्यक्तिगत आवास सुरक्षाका लागि पनि यसको प्रयोग गरिँदै आएको छ ।

सीसीटिभी क्यामेरा शौचालय, चेन्जरुम, होटलको बेडरुम तथा संवेदनशील स्थानमा राख्न नपाउने कार्यविधिमा उल्लेख छ । विशेष गरेर शान्तिसुरक्षा कायम गर्न, अपराधि पहिचान गर्न तथा घटनाको अभिलेख राख्न पनि प्रहरीले सीसीटिभीको प्रयोग गरेको पाइन्छ । मुख्य राजमार्ग, सार्वजनिक स्थान, व्यावसायिक केन्द्र तथा आवासीय सुरक्षाको लागि सीसीटिभीको विस्तार गरिएको पाइएको प्रहरीले जनाएको छ ।

जिल्लामा सीसीटिभी जडान गरेको पूर्ण तथ्यांक नआए आकस्मिक अनुगमन गरेर सीसीटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२ मा भएको व्यवस्था विपरित पाइए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । उहाँले पूर्ण जानकारी आएपछि अभिलेख राख्ने प्रणालीको विकास गर्ने बताउनुभएको छ ।