हेटौडाः २०७२ सालको भूकम्पबाट क्षति भएको ५ बर्षपछि गुम्बाको पुननिर्माण हुने भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ५ बसन्तपुरमा रहेको टासी छ्योइलिङ गुम्बाको पुननिर्माण कार्यको बिहीबार शिलान्यास गरिएको छ । बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र ५ नम्बर वडा अध्यक्ष शुभराज थिङले संयुक्तरुपमा गुम्बा पुननिर्माणको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य ग्लानले बौद्ध धर्म संस्कृति हाम्रो पहिचानसँग जोडिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारलगायत स्थानीय तहबाट विकास निर्माणको कार्यसँगै धर्म संस्कार संरक्षणका लागि सहयोग रहने बताउँदै निर्धारित समयमा नै गुम्बाको पुनर्निर्माण कार्य सकाउन उपभोक्ता समितिलाई उहाँले आग्रह गर्नुभएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेतीले स्थानीय सरकार धर्म संस्कार जगेर्नाका निम्ति सहकार्यको तयार रहेकाले गुम्बा निर्माणजस्तो पवित्र काममा गाउँपालिकाको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।
शिलान्यास कार्यक्रममा नेकपा मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेती, सचिवालय सदस्य दीपेन्द्र अधिकारी, कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नम्बर वडा सदस्य सोमनाथ रुम्बा, महेन्द्र खड्का, नेकपा ५ नम्बर वडा अध्यक्ष मीनबहादुर लामा, सूर्यकिरण युवा क्लबका अध्यक्ष बीरबहादुर मिजार, ऋषेश्वर महादेव मन्दिरका अध्यक्ष बिष्णुप्रसाद अधिकारीलगायतको सहभागिता थियो ।
कार्यक्रम गुम्बा व्यवस्थापन समितिका उपाध्यक्ष सुजन रुम्बाको सभाध्यक्षतामा भएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको २९ लाख अनुदान र ३० प्रतिशत जनश्रमदानसहित कूल ४१ लाख रुपैयाँको लागतमा गुम्बा पुननिर्माण सुरु गरिएको छ । गुम्बा निर्माण कार्य चैत मसान्तभित्र सम्पन्न गरिने उपभोक्ता समितिका सचिव दिलबहादुर लामाले बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वायन इकाई, भूकम्पीय गुम्बा आयोजनाअन्तर्गत् मकवानपुरमा १३ वटा गुम्बा पुननिर्माण भइरहेको छ ।