नेपाली कांग्रेसले देशभर वर्तमान सरकारको विरोधमा सडक प्रदर्शन तथा सभा गरेको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाको वर्तमान सरकार सर्वसत्तावादी बन्दै गएको भन्दै कांग्रेसले देशभर सडकमा प्रदर्शन गरेको हो । पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता रामचन्द्र पौडेललाई आफ्नै गृहजिल्लामा पुल उद्घाटनमा अवरोध सिर्जना गरी प्रहरी हस्तक्षेप भएपछि कांग्रेस वर्तमान सरकारको विरोधमा उत्रिएको हो । झण्डै तीन वर्षदेखि प्रतिपक्षमा रहेको कांग्रेस प्रतिपक्षको भूमिकाविहीन जस्तै बनेर बसेको थियो । सरकारसँग कतिपय पदहरुमा भागबण्डामा बार्गेनिङ गर्दै सरकारलाई स्वेच्छाचारी बन्न कांग्रेसले मौन समर्थन जनाउँदै आएको थियो । तनहुँमा पुल उद्घाटनको विषयलाई लिएर निषेधको राजनीति गर्न खोजिएपछि कांग्रेस साँच्चै प्रतिपक्षी बन्न खोजेको अनुभूति भएको छ । एकैदिन देशभर व्यापक जनप्रदर्शन गराएर कांग्रेसले वर्तमान सरकारको विरोधमात्र नगरेर प्रतिपक्षको भूमिका पनि निर्वाह गरेको छ ।

आफूलाई प्रमुख लोकतान्त्रिक शक्ति दावी गर्दै आएको नेपाली कांग्रेस अहिले मुलुकको प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनमा कांग्रेस संघीय तथा सबैजसो प्रादेशिक संसदमा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको छ । वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेको छैन । केही राम्रा कामहरुको सुरुवात गरेको भएपनि सरकारले थुप्रै प्रकारका बेथितिलाई प्रोत्साहन गरिरहेको छ । ठूला–ठूला भ्रष्टाचारजन्य क्रियाकलापमा सरकारले मौन समर्थन जनाएको जस्तो देखिएको छ । अझ कतिपय भ्रष्टाचारका घटनामा सरकार र नेकपासम्बद्ध व्यक्तिहरुकै प्रत्यक्ष संलग्नता रहनुले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यका लागि नतिजामुखी काम गर्न नसकेकै हो । कोरोना भाइरसको महामारीको अवस्थामा समेत सरकारका जिम्मेवार पदाधिकारीबाट अनियमितता भइरहनु सरकारको कमजोरी हो ।

कोरोना भाइरस संक्रमणबाट आम नेपालीलाई जोगाउन सबै तहका सरकारले गर्नसक्ने कामहरु पनि नभएकै हो । पछिल्लो समय नेकपाभित्रै शीर्ष नेताहरुमा देखिएको विवाद तथा वैमनश्यताले सरकार अन्यत्रै अल्मलिन पुगेको छ । आफ्नै पार्टीभित्र विवाद बढेपछि सरकारले प्रभावकारी काम गर्न सकिरहेको छैन । यस्तो अवस्थामा प्रतिपक्षी दलसमेत सुतेर बसिदिँदा वर्तमान सरकारलाई स्वेच्छाचारी बन्न सहयोग पुगिरहेको थियो । सरकारको गलत कामको संसद र सडकबाट विरोध गर्नुपर्ने प्रतिपक्षी दलभित्रै पनि नेतृत्वको विवादले सत्तापक्षलाई सहज बनिरहेको पक्कै हो । सरकार सर्वसत्तावादतर्फ उन्मुख हुने प्रतिपक्ष मौनजस्तै बस्ने अवस्था लामो समयसम्म कायम रहँदा आम नागरिकको अपेक्षा पूरा भएनन् । पछिल्ला दिनहरुमा संघीय लोकतान्त्रिक व्यवस्थाकै विरोध गर्नेहरु पनि सल्बलाउन थालेपछि प्रतिपक्षी कांग्रेस निद्राबाट ब्यूँझिन खोजेको हुनसक्छ ।

लामो लोकतान्त्रिक पृष्ठभूमि भएको नेपाली कांग्रेसले सडकमा प्रदर्शन गरेर वर्तमान सरकारलाई प्रतिपक्ष जाग्न लागेको संकेत दिएको छ । आफ्ना नेतामाथि दुव्र्यवहार भएपछि मात्र कांग्रेसको चेत खुलेको हो भने यसले आम नागरिकलाई कुनै सकारात्मक प्रभाव पर्दैन । यदि कांग्रेसले आफूलाई साँच्चै सशक्त प्रतिपक्षको रुपमा चिनाउन खोजेको हो भने सरकारको गलत कामको सधैं उचित तरिकाले विरोध गर्न कांग्रेस चुक्नु हुँदैन । सरकारको विरोधमा देशभर भएको सडक प्रदर्शनमा देखिएको सहभागिताले कांग्रेसलाई उत्प्रेरित गरेको हो भने त्यसले वर्तमान सरकारले गरेका गलत क्रियाकलाप सच्याउन र आगामी दिनमा गलत काम गर्नुअघि सोच्न बाध्य बनाउने निश्चित छ ।