उपहारस्वरुप प्राप्त पुस्तक लिएर तस्वीर खिचाउँदै कार्यक्रमका अतिथिहरु ।

हेटौंडाः हेटौंडाबाट प्रकाशित हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक पत्रिकाको १० औं वार्षिकोत्सब तथा रेडियो निकास ९३.४ मेगाहर्जको सातौं वार्षिकोत्सव मंगलबार मनाइएको छ । वार्षिकोत्सवकोवको अवसरमा सहभागी सबैलाई विभिन्न विषयका पुस्तक वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा सहभागीलाई पुस्तक वितरण गरिएको हो ।

उपहारस्वरुप वितरणका लागि ल्याइएको पुस्तक सार्वजनिक गर्नुहुँदै अतिथिहरु ।

कार्यक्रममा बोल्नुहुँदै रेडियोका सञ्चालक एवम् नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले अब पत्रिकाले राष्ट्रियस्तरको समाचार भन्दा पनि वडास्तर, स्थानीय तहको समाचारमा विशेष ध्यान दिनुपर्ने बतउनुभयो । उहाँले अब कोरोनाको कारणले गर्दा पाठकहरुले नयाँ नयाँ कुरामात्र पढ्न रुचाउने भएका कारण सामान्य समाचार अनलाइन तथा सामाजिक सञ्जालमा आएका कुराहरुले मात्रै नपुग्ने बताउनुभयो । मिडिया हाउसले पनि स्थानीय समाचारहरुलाई प्राथमिकता दिनुपर्ने विष्टले बताउनुभयो ।

उपहारस्वरुप प्राप्त पुस्तक लिएर तस्वीर खिचाउँदै कार्यक्रममा सहभागीहरु ।

वार्षिकोत्सवमा सहभागी भएका दुई सय जनालाई उपहारस्वरुप पुस्तक वितरण गरिएको हो । समृद्ध समाज दैनिकका सम्पादक तथा रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठले पाठक, स्रोतको साथ र सुझावमा समाचारपत्र र रेडियोलाई थप सशक्त ढंगले सञ्चालन गरिने बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास गर्न उपमहानगरसँगको सहकार्यमा पुस्तक वितरणको कार्य गरिएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट सहकर्मीको रुपमा कार्यालय व्यवस्थापक सुष्मा थापा र उत्कृष्ट संवाददाता सुसन लामिछानेलाई सम्मान समेत गरिएको थियो ।

उपहारस्वरुप प्राप्त पुस्तक लिनुहुँदै कार्यक्रमका अतिथिहरु ।

कार्यक्रममा बागमती प्रदेश सभासदस्य प्रेम बहादुर पुलामी, पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीना कुमारी लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, साहित्यकार तुल्सी थापा, बागमती प्रदेशको प्रेस रजिगटार रेवती सापकोटालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरु ।