हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा सोमबार भएका खेलमा वडा नम्बर ३ र वडा नम्बर ४ टिम विजयी भएको छ ।
३ नम्बर वडा र ८ नम्बर वडाबीच भएको पहिलो खेलमा वडा नम्बर ३ ले ३–० गोलअन्तरले जित हासिल गरेको छ । खेलमा म्यान अफ दि म्याच वडा नम्बर ३ का सुनिल रुम्बा घोषित भए । सोमबार भएको दोस्रो खेलमा मनहरी गाउँपालिकाको वडा नम्बर ४ ले वडा नम्बर ५ लाई ३–२ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरबाट निर्णय भएको थियो । पेनाल्टी सुटआउटमा वडा नम्बर ४ विजयी भएको मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले जानकारी दिनुभयो । खेलमा मनहरी–४ का विशाल प्रजा म्यान अफ दिन म्याच घोषित भए ।
गाउँपालिकाका ९ वटै वडाको टीम सहभागी भएको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित शिल्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड तथा मेडल प्राप्त गर्नेछ । गाउँपालिकाको लगानीमा जारी प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।