हेटौंडा उपमहानगरपालिका कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ४२ जना विभिन्न प्रकारका गम्भीर रोग लागेकाहरुलाई संघीय सरकारले दिने सहुलियत उपचारमा छुटका लागि सिफारिस गरेको छ । चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाले क्यान्सर रोग लागेका २३ जना विपन्न नागरिकलाई संघीय सरकारले तोकिएको अस्पतालमा उपचार सेवा लिएबापत प्राप्त हुने १ लाख रुपैयाँसम्मको छुट दिनका लागि सिफारिस गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले सहुलियत उपचारमा छुटका लागि सिफारिस गरेकामध्ये मुटुसम्बन्धी रोग लागेका ११ जना, मृगौलासम्बन्धी रोग लागेका ६ जना, टाउकोमा चोट लागेका १ जना र कारोना भाइरस संक्रमित १ जनालाई संघीय सरकारले तोकेको अस्पतालमा उपचार छुटका लागि सिफारिस गरिएको मेयर महतले बताउनुभयो । वार्षिक रुपमा हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका १ सयभन्दा बढीलाई क्यान्सर रोगीको उपचारमा छुटका लागि सिफारिस गर्दै आएको मेयर महतको भनाइ छ । यस्तै, कोरोनाले समस्यामा परेका तथा अन्य उपचारमा सहयोगका लागि आएकाहरुलाई उपमहानगरपालिकाले सकेको सहयोग गर्दै आएको मेयर महतले बताउनुभयो । उहाँले हेटौंडा उपमहानगरपालिकाका बासिन्दाले सामान्य उपचार सेवाका लागि आफ्नै वडाबाट सेवा पाउन् भन्ने उद्देश्यले १९ वटै वडामा स्वास्थ्य संस्था तथा चिकित्सकसहितको सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

उपमहानगरमा पहिलेको जस्तो सानातिनो समस्या लिएर हेटौंडा अस्पतालमा जचाउन जानुपर्ने अवस्था अहिले नरहेको र स्थानीयस्तरकै सहरी स्वास्थ्य केन्द्रबाट निःशुल्क औषधिसहितका उपचार सेवा लिन सकिने उहाँले बताउनुभयो । केही कडा खालका रोगहरुका लागि जिल्लाबाहिर जानुपर्ने स्थिति रहेकाले संघीय सरकारले ८ प्रकारका कडा रोग लागेका व्यक्तिहरुलाई दिने सहुलियत उपचार छुटका लागि हेटौंडा उपमहानगरपालिकाले सिफारिस गर्दै आएको मेयर महतले जानकारी दिनुभयो । संघीय सरकारले मुटुरोग, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, टाउको तथा करङ, एनिमिया, हृदयघातजस्ता गम्भीर प्रकृतिका रोगबाट पीडित विपन्न विरामीलाई तोकिएको अस्पतालमा हुने उपचार खर्चमा एक लाख रुपैयाँसम्म छुट दिने व्यवस्था रहेको छ । बागमती प्रदेश सरकारले पनि यस्ता गम्भीर रोग लागेका बिरामीलाई उपचारमा थप ५० हजार रुपैयाँ सहयोग गर्न बजेट व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।