हेटौंडाः नेपाली कांग्रेसले आज सोमबार देशभर सडकबाट सरकारको विरोध प्रदर्शन गर्ने भएको छ । हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा आउनुहुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले विरोध प्रदर्शनको तयारी पूरा भएको बताउनुभएको छ ।
नेता बानियाँले देशैभरी सर्वसत्तावादको विरुद्ध नेपाली कांग्रेसले गर्न लागेको जनप्रदर्शन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै निर्वाचन गर्नेदेखि संविधान जारी गर्नेसम्म आफ्नो काँधमा राख्दै जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । अहिले नेपाल कम्युनिस्ट पार्टीको बहुमतसहितको सरकार र पार्टीप्रति नै आम नागरिकको आशा र भरोसा टुट्दै गएकाले गणतन्त्रप्रति नागरिकमा निराशा रहेको र बढ्दै गएको महंगी, भ्रष्टाचार, बलात्कारजस्ता बेथितिविरुद्ध विरोध प्रदर्शन गर्न लागिएको उहाँले बताउनुभयो । तनहुँको व्यास नगरपालिकामा मंसिर १७ गते पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाका नेता, कार्यकर्ताले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेको विरोधमा पनि कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको नेता बानियाँले बताउनुभयो ।
सरकारको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा हेटौंडामा आइतबार युवाहरुले सिटी जुलुस निकालेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण युवाहरुले सिटी जुलुस निकालेका हुन् । कांग्रेस मकवानपुरको पार्टी कार्यालयबाट सुरु भएको सिटी जुलुस संगमचोक, कान्तिराजपथ, स्कूलरोड हुँदै सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै नेपाल तरुण दल मकवानपुरका जिल्ला अध्यक्ष ईश्वर पाठकले सरकारको विरोध गर्नुभएको छ । देशमा बढ्दो महिला हिंसा, बलात्कार, भ्रष्टाचारलगायतका बारेमा अहिलेको सरकार फसेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो । विरोधसभामा बोल्दै तरुण दल अध्यक्ष पाठकले वर्तमान सरकार सर्वसत्तावादी र दमनकारी बन्दै गएको भन्दै तरुण र युवाहरुले सशक्त विरोध गर्ने चेतावनी दिनुभयो ।
आफ्ना नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सरकारी रवैयाबिरुद्ध कांग्रेसले गर्न लागेको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा आफूहरुले सिटी जुलुस गरेकोसमेत उहाँले बताउनुभयो । उहाँले दमनकारी, भ्रष्टाचारी सरकारविरुद्ध तरुण र विद्यार्थीले सशक्त प्रतिकार गर्ने तथा कांग्रेस नेताहरुमाथि औंलामात्रै उठाउने दुस्साहस कसैले गरेमा त्यसको औला काटिने बताउनुभयो । उहाँले नेताहरुको सुरक्षाका लागि आफूहरुले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै देशव्यापीरुपमा सरकारविरुद्ध आन्दोलनको आँधी आउने बताउनुभयो । नेकपाको राष्ट्रविरोधी चरित्रका कारण मुलुकमा राजावादी र गणतन्त्रविरोधीहरु सल्बलाएको भन्दै अब कांग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने उहाँले दावी गर्नुभयो ।
आज सोमबार हेटौंडामा सरकारको विरोधमा व्यापक युवाहरुको उपस्थितिका लागि नेपाली कांग्रेस मकवानपुरले जिल्लामा सबै कार्यकर्ताहरुलाई सर्कुलर गरिसकेको छ । हेटौंडामा मात्रै करिब १० हजार जना सडकमा उत्रेर प्रदर्शन गरिने कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले बताउनुभयो । उहाँले प्रदर्शनमा सहभागी हुन आम सर्वसाधारण नागरिकहरुलँई पनि आग्रह गर्नुभएको छ । उहाँले कांग्रेस निकट सम्पूर्ण विद्यार्थी संघ, युवा संघहरुलाई सशक्त ढंगले अगाडि बढ्न भन्नुभएको छ । कांग्रेस मकवानपुरले हेटौंडामा चारैदिशा (उत्तरमा चौकीटोल, दक्षिणमा कर्रापुल, पूर्वमा कान्तिराजपथ र पश्चिममा राप्तीपुलबाट) सरकार विरोधी नाराहरु लगाउँदै विरोध प्रदर्शन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस मकवानपुरले प्रदर्शनमा १० नाराहरु तय गरेको छ । कांग्रेसले सर्वसत्तावादी ओली सरकार–मूर्दावाद, तनहुँमा भएको दुव्र्यहार–अपमान र अत्याचार, बढ्यो महिला हिंसा र बलात्कार–अकर्मण्य भो ओली सरकार, चारैतिर भष्टाचार–जनताले चिन्यो ओली सरकार, अति भो अति भो–मुलुककै छवि क्षति भो, जनता कोरोनाको मारमा–नेकपा सत्ताको जितहारमा, औषधि छैन, मल छैन–सत्ताको लडाईं लाज छैनलगायत सरकार विरोधी नाराहरु लगाउँदै हेटौंडा बजार प्रवेश गर्ने चारैतर्फबाट र्याली निकालिने भएको छ ।