हेटौंडाः विद्यार्थी बीच व्यावसायिक योजना निर्माण तथा प्रस्तुतीबारे गरिएको प्रतियोगिता हल्ट प्राइजमा टिम अन्नपूर्ण प्रथम भएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा शनिबार सम्पन्न हल्ट प्राइजमा ४ जनाको समूह टिम अन्नपूर्णले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै टिम व्यञ्जन र मोरस क्रमशः दोस्रो र तेस्रो घोषित भएको छ । फाइनल प्रतिस्पर्धा ५ वटा समूहबीच भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित विभिन्न उपहार र प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।
हल्ट प्राइजमा विद्यार्थीले ‘फुड फर गुड’ अर्थात ‘राम्रो हुनका लागि खाद्यान्न’ भन्ने विषयमा आधारित भएर व्यावसायिक योजना निर्माण तथा त्यसको प्रदर्शनी गरेका थिए । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सहायक प्रधानाध्यपक राम पण्डित खनालको प्रमुख आतिथ्यमा हल्ट प्राइजको फाइनल प्रस्तुती भएको थियो । प्रतियोगिताको निर्णायकमा लेखराज पोखरेल, टीकाराम पोखरेल र सुदर्शन खतिवडा रहनुभएको थियो ।