हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकतन्त्र स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी रहेको बताउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६ औ बार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र र त्यसलाई स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले मिडियाले सरकारले गरेका कामलाई बाहिर ल्याउनुपर्ने बताउनुभयो । पत्रकार र मिडियाको हकका लागि प्रदेश सरकार सहयोग गर्न सधैं तयार रहेको भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘मिडिया सत्तापक्षको पनि हुनुपर्छ । प्रतिपक्षको मात्रै हुनुहुँदैन ।’ मिडियाले समाजमा भएको राम्रो कुरालाई राम्रो र नराम्रा कुराहरुलाई गलत भनेर लेख्नुपर्ने उहाँले बताउनुभयो । सरकारले गरेका राम्रो कामलाई जनतासमक्ष प्रस्तुत गर्नुको साटो कतिपय मिडिया सरकारको विरोधमा मात्र केन्द्रित रहेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशसभाका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पत्रकार तथा मिडियाको हकहितका लागि तीनै तहका सरकारको भूमिका कमजोर रहेको बताउनुभयो । उहाँले अहिले विभिन्न प्रकारका मिडिया हाउसको संख्या बढ्दै गएको हुँदा एकै प्रकारका मिडिया मर्जमा जानु आवश्यक रहेको बताउनुभयो । सरकारले अन्य क्षेत्रमा सहुलियत दरमा ऋण उपलब्ध गराइरहँदा पत्रकार तथा मिडियालाई पनि सहुलियत ऋणको व्यवस्था गर्न आग्रह गर्नुभयो । कोरोनाको जोखिमका कारण पेसा नै दाउमा राख्न बाध्य बनेका पत्रकारलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु आवश्यक भएको नेता बानियाँको भनाई छ । नेता बानियाँले मिडिया सञ्चालकलाई काम गरेबापत सरकारले तोकेको पारिश्रमिक पत्रकारलाई दिन पनि अनुरोध गर्नुभएको छ ।
बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले पत्रकारको हकहितका लागि विभिन्न कार्यक्रम रहे पनि न्यून बजेटका कारण काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभयो । बागमती प्रदेशका पत्रकारहरुको क्षमता विकास तालिम, लेखनवृत्ति, पेन्सन, औषधि उपचारलगायतका कार्यक्रम गर्नलाई पर्याप्त रकम नभएको बताउनुभयो । उहाँले श्रमको सुरक्षा गर्न प्रदेश र स्थानीय तहका सूचना तथा विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्न सकिएमा मिडिया हाउस र सञ्चारकर्मी दुबैको हित हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारले राम्रो कुराको समाचार नभएर राम्रो हुनको लागि समाचार लेख्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले अहिलेको लोकतन्त्रलाई जोगाउन, संघीयतालाई व्यवस्थति गर्न लेख्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको संघीयतामा पनि पत्रकारिता क्षेत्रसँग सम्बन्धित कानुनमा नै कमजोर रहेको भन्दै तीनै तहका सरकराले निर्माण गरेको कानुनमा एकै प्रकारका प्रावधान रहेको गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले पत्रकार महासंघ मकवानपुरले कार्यान्वयनमा ल्याउन लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम उदाहरणीय भएको भन्दै पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको हकहितका लागि क्रियाशील रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले अब पत्रकार महासंघले श्रमजीवी पत्रकारको समस्या, श्रमको रक्षा तथा पत्रकारिता पेसालाई टिकाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै, अर्का केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीले प्रदेशमा अझै पनि मिडिया स्वतन्त्रता नभएको बताउनुभयो । प्रदेशको मन्त्रिपरिषद्को बैठक बस्नेसमेत थाहा नहुने र बैठकमा भएका निर्णयबारे सरकारका प्रवक्ताले पत्रकारलाई जानकारी पनि नदिनेजस्ता पक्षहरु सुधार गर्दै लैजान पत्रकार महासंघ जिल्ला शाखा र प्रदेश शाखाले पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप बिष्ट, पत्रकारका विभिन्न पेसागत संगठनका प्रतिनिधिहरुलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लामो समयदेखि पत्रकारिता गरिरहनुभएका ३ जना अग्रज पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । राष्ट्रिय समाचार समितिमा कार्यरत कृष्णराम परियार, पत्रकार महासंघ मकवानपुरका पुर्वअध्यक्ष तथा प्रयास साप्ताहिकका सम्पादक कौशल पाण्डे तथा पत्रकार खेम बोलखेलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा सम्पन्न साधारणसभाले पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी तथा कोषाध्यक्ष सुदिप शिवाकोटीले प्रस्तुत गर्नुभएको प्रगति तथा आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
नेपाल पत्रकार महासंघले कार्यान्वयनमा ल्याउन लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमको कार्यविधिलाई साधारणसभामा छलफल चलाइएको थियो । साधारणसभामा उठेका सुझावलाई समावेश गरेर कार्यविधिलाई अन्तिम रुप दिन साधारणसभाले ५ सदस्यीय कार्यदल गठन गरेको छ ।