माइती र उपमेयरको समन्वयमा हेटौंडा–१२ मा रञ्जनाको घर ।

हेटौंडाः हेटौंडा–१२, पदमपोखरीकी हिंसापीडित एक महिलालाई माइती पक्ष र हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको समन्वयमा विभिन्न संघ, संस्थाको सहयोगमा घर बनाएर गृह प्रवेश गराइएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन बिहीबार लैंगिक हिंसा पीडित रञ्जना हटुवाललाई २ कोठे घर निर्माण गरी गृहप्रवेश गराइएको हो ।

करिब सात लाख रुपैयाँ लागतमा दुईकोठे घर निर्माण गरिएको छ । एक छोरी समेत भएकी रञ्जना लैंगिक हिंसापीडित भएपछि हेटौंडा अस्पतालस्थित अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रले सहयोग गरेको थियो । रञ्जनाले आफू हिंसापीडित भए पनि अहिले सबैको साथ र सहयोगमा आत्मनिर्भर र सक्षम भएको बताउनुभएको छ । हिंसापीडित भएपनि आत्मनिर्भर हुन विभिन्न क्षेत्रबाट भएको सहयोगप्रति रञ्जनाले आभार व्यक्त गर्नुभएको छ ।

रञ्जनाका लागि घर बनाउन विभिन्न क्षेत्रका व्यक्ति, संघ, संस्थालाई पहल गरेको र रञ्जनालाई सहयोग गर्न पाउँदा खुसी लागेको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले बताउनुभएको छ । उपमेयर लामाले लैंगिक हिंसाबाट कोही पनि पीडित भएर पनि रञ्जनाको साहसबाट आफू निक्कै खुसी भएको बताउनुभयो । रञ्जनाको बुबा, हजुरबुबा र छरछिमेकको उपस्थितिमा गृहप्रवेशको कार्यक्रम गरिएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलान, ११ नम्बर वडा सदस्य जुना दाहाल र अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रका अधिकारीको पनि उपस्थिति रहेको थियो ।