हेटौंडाः लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मंगलबार चित्रकला प्रदर्शनी कार्यक्रम भएको छ । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरको आयोजनामा किशोरीहरुले कोरेका चित्रको डिजिटल प्रदर्शनी गरिएको हो ।
प्लान मकवानपुरको सहयोगमा सिविन बाल हेल्पलाइनले हेटौंडामा आयोजना गरेको चित्रकला कार्यक्रममा तयार पारिएका चित्र तथा देशका विभिन्न स्थानमा प्लानको सहकार्यमा स्थानीय संघ, संस्थाको आयोजनामा तयार पारिएको चित्रकलालाई हेटौंडा–२ स्थित गैरसरकारी संस्था महासंघको नागरिक भवनमा प्रदर्शनी गरिएको हो । चित्रकला प्रदर्शनीसँगै लैंगिक हिंसाका विषयमा सञ्जालकी सहसंयोजक माया लामाले प्रस्तुती गर्नुभएको थियो । माइती नेपाल तथा रोकथामगृह मकवानपुरकी कार्यक्रम संयोजक समेत रहनुभएकी लामाले लैंगिक हिंसाको स्वरुपहरु परिवर्तन भएको, बैदेशिक रोजगारीको स्वरुपमा मानव बेचबिखन हुने गरेको, बालविवाहका घटनामा उल्लेख्य वृद्धि भएको, बालिकामाथि बलात्कारपछि हत्या जस्ता जघन्य अपराधका घटना भइरहेको उल्लेख गर्नुभयो ।
चित्रकला प्रदर्शनीको अवलोकनपछि बागमती प्रदेश सभाकी सदस्य एवम् नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले हिंसाका घटनामा पीडकलाई राजनीतिक संरक्षण हुन नहुने र आफूले पनि हिंसाका घटनामा पीडकलाई संरक्षण नगरी कारवाहीका लागि सक्दो पहल गरिरहेको जानकारी दिनुभएको छ । आफूले प्रत्यक्ष दबाव दिँदा राजनीतिक रुपमा दबाव दिएको भन्ने आरोप लाग्न सक्ने अवस्थामा विभिन्न अधिकारवादी संघ, संस्थालाई खबरदारी गर्न पहल गर्ने गरेको पनि उहाँको भनाइ छ । सशस्त्र द्वन्द्वको संकटकाल घोषणाको समयमा समेत सञ्जालले मानव बेचबिखनविरुद्ध गरेका कार्य सराहनीय रहेको स्मरण गर्नुहुँदै प्रदेश सभा सदस्य सिग्देलले हिंसाका घटनामा भोटको लोभ देखाएर घटना मिलाइदिन समेत पीडक पक्षले प्रलोभन देखाउने गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले सञ्जालले गरेको कामको उचित अभिलेखीकरण जरुरी रहेको बताउनुभएको छ । वर्षभरको कामको उपलब्धीको लेखाजोखा र व्यवस्थित तवरबाट अभिलेखीकरण गर्न सुझाव दिनुहुँदै जिसस उपप्रमुख पुडासैनीले स्थानीय तहसँग सहकार्य र समन्वयका लागि जिससले आवश्यक सहजीकरण गरिदिने बताउनुभयो । महिला अधिकारका लागि मानव अधिकार तथा मानव बेचबिखन विरुद्धको सञ्जाल पूर्वाधारको रुपमा स्थापित भएको पनि उपप्रमुख पुडासैनीको भनाइ थियो ।
सञ्जालकी संयोजक आरती पाठकको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यमा भएको चित्रकला प्रदर्शनीमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाकी उपाध्यक्ष सरिता दाहालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले जघन्य किसिमका लैंगिक हिंसाका घटना भइरहेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।