हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएसँगै हेटौंडामा क्रियाशील लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । बुधबार बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालका अनुसार हेटौंडामै रगतको खपत बढेको र चितवनबाट पनि माग भएर आएका कारण रगत अभाव भएको हो । केही दिनदेखि ए पोजेटिभ ग्रुपको रगत अभाव भएकोले १२ जनालाई रक्तसञ्चार केन्द्रमै बोलाएर रगत संकलन गरिएको पनि केन्द्र प्रमुख दाहालले जानकारी दिनुभयो ।

रगतको अभावको स्थिति भएको जानकारीपछि लायन्स क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यस्तै आउँदो शनिबार हेटौंडा–१८, हर्नामाडी र हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिर परिसरमा पनि रक्तदान कार्यक्रम हुने तय भएको केन्द्र प्रमुख दाहालले बताउनुभएको छ ।