हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले मंसिर २९ गते हेटौंडामा प्रदर्शन गर्ने भएको छ । वर्तमान सरकार सर्वसत्तावादी भएको र तनहुँमा मंसिर १७ गते सरकारले दमनकारी दूव्र्यवहार गरेको, स्वास्थ्य सामग्री खरिद लगायतमा भ्रष्टाचार गरेको आरोप लगाउँदै कांग्रेस मकवानपुरले प्रदर्शन गर्ने जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय डिना र गुरुराज घिमिरेको उपस्थितिमा आइतबार भएको बैठकले केन्द्रीय निर्देशन अनुसार सरकारका गतिविधिको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको बैठकले मकवानपुरका सबै क्षेत्रबाट नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई प्रदर्शनमा उपस्थित गराउने निर्णय गरेको छ ।
पूर्वी क्षेत्रको प्रदर्शन सानोपोखरा चोक, पश्चिमी क्षेत्रको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अगाडि, उत्तरी क्षेत्रको प्रदर्शन चौकीटोल र दक्षिणतर्फको प्रदर्शन र्याली फरेष्ट्रीबाट शुरु हुने जनाइएको छ । चारैतिरबाट एकै पटक शुरु हुने र्याली हेटौंडाको बुद्धचोक र सिमाचोकको बीचमा सभामा परिणत हुने बैठकले निर्णय गरेको छ । बैठकमा जिल्ला पदाधिकारी, विभाग प्रमुख, क्षेत्रीय सभापति, भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।