साधारणसभाको उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।

हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १५ औं वार्षिक साधारणसभा आइतबारबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सहकारी विभागले जारी गरेको निर्देशन बमोजिम मंसिर २९ गतेसम्म सदस्यहरुको सहभागिता गराई साधारणसभाको समापन गरिने संघले जनाएको छ ।

संघको सञ्चालक समिति सदस्य हिमाल पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा आइतबार साधारणसभाको उद्घाटन कार्यक्रम भएको छ । एक सय ४० वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था सदस्य रहेको संघमा तीन करोड रुपैयाँ सेयर पुँजी रहेको छ । ५१ करोड ४३ लाख ९३ हजार रुपैयाँ बचत संकलन गरेको संघले १४ करोड ३१ लाख १० हजार रुपैयाँ ऋण लगानी गरेको छ । साधारणसभाको उद्घाटन समारोहमा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, निवर्तमान अध्यक्ष बद्रिप्रसाद लम्सालको पनि उपस्थिति रहेको थियो ।

जिल्लाका १० वटै पालिकाका बचत तथा ऋण सहकारी आवद्ध रहेको संघले मंसिर २६ गतेसम्म सहभागिता जनाउन सकिने गरी जिल्लाका ४ स्थानमा उपस्थिति केन्द्र निर्धारण गरेको छ । हेटौंडास्थित जिल्ला बचत तथा ऋण सहकारी संघको कार्यालयमा हेटौंडा उपमहानगरका साथै मकवानपुरगढी, भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकाका सदस्य संस्था सहभागी हुने केन्द्र निर्धारण गरिएको छ । थाहा नगरपालिकाको बज्रबाराही बचत तथा ऋण सहकारी संस्थामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाका सदस्य संस्थाको केन्द्र निर्धारण गरिएको बचत संघकी व्यवस्थापक सुमित्रा वाईबाले जानकारी दिनुभएको छ ।

यस्तै बकैया गाउँपालिकास्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थालाई बकैया र बागमती गाउँपालिकाका सदस्य संस्थाको केन्द्र निर्धारण गरिएको भने मनहरी गाउँपालिकाको मनहरी बचत तथा ऋण सहकारी संस्थालाई मनहरी र राक्सिराङ गाउँपालिकामा रहेका सदस्य संस्थाको केन्द्र निर्धारण गरिएको छ ।