हेटौंडाः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मकवानपुर जिल्लामा नागरिक अधिकारको अवस्थाका बारेमा नागरिक समाज र सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । हेटौंडास्थित इन्सेकको बागमती प्रदेश कार्यालयमा भएको छलफलमा स्थानीय, प्रदेश र संघीय सरकारका निकायबाट नागरिक अधिकार स्थापित गर्न भएका कार्यहरु र नागरिक अधिकार हनन्को अवस्थाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीले नागरिक अधिकारको विषयमा नियमित समीक्षा र छलफल हुनु जरुरी रहेको औँल्याएका थिए । कोरोना भाइरस महामारीको जोखिमको समयमा राज्यका निकायले पारदर्शिता कायम गर्न नसकेको विषयमा पनि सहभागीले चासो व्यक्त गरेका थिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समितिकी उपाध्यक्ष आरती पाठकले नागरिकमाथि हुने हिंसाको विषयमा राज्यका निकायलाई जिम्मेवार भएर दोषीलाई कारवाही गर्न र पीडितलाई न्याय दिलाउन प्रयास गरिएको जानकारी गराउनुभयो ।
गैरसरकारी संस्था महासंघ मकवानपुरकी कार्यवाहक अध्यक्ष रमिला सापकोटाले मकवानपुर जिल्लाका केही पालिकाको स्वास्थ्य सेवाको अवस्थाका बारेमा अनुगमन गरिएको जानकारी दिनुभयो । स्वास्थ्य सेवा प्रदायक संस्थामा सरकारले निशूल्क उपलब्ध गराउने औषधीका बारेमा नागरिकलाई जानकारी गराउन नसकेको, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा म्याद गुज्रेका औषधी बरामद भएको सापकोटाले बताउनुभयो । कार्यक्रममा सहभागीले कोरोना महामारीका बीच सरकारी र निजी विद्यालयहरु खोल्ने नखोल्ने विषयमा विवाद देखिएको र विद्यालय खोल्दा स्वास्थ्य सुरक्षाको पक्षमा गम्भीर हुनुपर्ने औँल्याएका थिए । कोरोना महामारीका बेलामा प्रदेश सभामा नागरिकका समस्याका बारेमा छलफल समेत हुने वातावरण नसकेको भन्दै सहभागीले चिन्ता व्यक्त गरेका थिए ।