हेटौंडाः छठ पर्व सकिए लगत्तै हेटौंडाका विद्यालयहरु सञ्चालनमा आएका छन् । हेटौंडा बजार क्षेत्रमा आइतबार अमर माध्यमिक विद्यालय र सिद्धार्थ माध्यमिक विद्यालय सञ्चालनमा आएको छ । यस्तै बंशगोपाल माध्यमिक विद्यालय पनि आइतबारदेखि सञ्चालनमा आएको छ भने जनप्रिय माध्यमिक विद्यालय आज सोमबारबाट सञ्चालनमा आउँदै छ ।
हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन गर्नेबारे छलफल आइतबार सम्पन्न गरेको छ । छलफलमा प्रानाध्यापकहरुले कोरोना भाइरसको जोखिमको समयमा विद्यालय सञ्चालन कसरी गर्न सकिन्छ भनेर आ–आफ्नो विद्यालयहरुको विकल्प लिखित रुपमै हेटौंडा उपमहानगरपालिकालाई दिएको बंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले बताउनुभयो ।
नेपाल सरकारले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ ल्याउनुभन्दा अगाडि नै बंशगोपाल माविले पठापाठन सञ्चालन गरेकोे उहाँको भनाइ छ । लामो समयसम्म हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने जोखिम बहन गर्न नसकेपछि विद्यालयले वडा कार्यालयको समन्वयमा विद्यालयमा भौतिक उपस्थितिमै विद्यार्थीहरुलाई बोलाएर पठनपाठन सुरु गरेको प्रधानाध्यापक लामिछाने बताउनुहुन्छ । उहाँले विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सतर्कता भने कडाईका साथ पालना गरेको जानकारी दिनुभयो ।
यस्तै हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्नेबारे निर्णय गर्नुपूर्व नै आइतबारदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमा अमर माध्यमिक विद्यालयले पनि पठनपाठन सुचारु गरेको हो । विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीका अनुसार वडा कार्यालयसँग समन्वय गरेर पठनपाठन सञ्चालन गरिएको हो । हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्न प्रधानाध्यापकको बैठक बोलाउनुअघि नै विद्यालयले वडासँग समन्वय गरेको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो । जोखिमको समयमा विद्यालय आइतबारदेखि सञ्चालन भएपनि पूर्ण रुपमा भने विद्यार्थी नआएको उहाँको भनाइ छ । ६६२ जना कुल विद्यार्थी संख्या रहेको अमर माविमा आइतबार एक सय ११ जना विद्यार्थी उपस्थिति थिए । उनीहरुलाई बेञ्चमा २ जनाका दरले राखिएको थियो भने अनिवार्य मास्क लगाउन लगाइएको थियो ।
सिद्धार्थ माविले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई मात्र भौतिक रुपमा विद्यालयमा उपस्थित गराइने जनाएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई भने अनलाइन कक्षा गर्दैछ । साना तहमा रहेको विद्यार्थीहरुको बुझ्ने क्षमता कम भएका कारण भौतिक रुपमै विद्यालयमा उपस्थित गराएर पठनपाठन आइतबारबाट सुरु गरेको विद्यालयका प्रधानाध्यापक मोहन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अनिवार्य मास्क लगाउने, दूरी कायम, सेनिटाइजरको प्रयोग तथा समय समयमा साबुन पानीले हात धुनुपर्ने जस्ता स्वास्थ्य सतर्कता कडाइका साथ लागू गरिएको छ ।
यता हेटौंडाको जनप्रिय माविले आज सोमबारबाट विद्यालय सञ्चालन गर्दैछ । वडा कार्यालयको समन्वयमा जोर बिजोर प्रणाली गरेर विद्यार्थीहरुको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिनुभयो । नर्सरी कक्षादेखि १२ कक्षासम्म जोर–बिजोर अनुसार स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुने उहाँको दावी छ ।
हेटौंडा बजार क्षेत्रका धेरै विद्यार्थी संख्या भएको आधुनिक राष्ट्रिय माविले भने विद्यार्थीहरुको भौतिक उपस्थितिमा अहिले नै विद्यालय सञ्चालन नहुने जनाएको छ । हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी निर्णय गरेपछि मात्रै सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले बताउनुभयो । अहिले आधुनिक राष्ट्रिय माविले कक्षा ५ भन्दा मुनिका विद्यार्थीहरुको अभिभावकहरुलाई बोलाएर विद्यार्थीलाई गृहकार्य गर्न दिएर पठाइरहेको छ भने आज सोमबारबाट कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले लामो समयसम्म पनि जोखिमका बीचमा विद्यालय सञ्चालन गर्न कुनै पनि कदम नचालेपछि अहिले विद्यालयहरु आफै सक्रिय भएर सञ्चालन गर्नेतिर लागेका छन् । विद्यालय सञ्चालन ढाँचा २०७७ आएलगत्तै हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालय र निजी विद्यालय सञ्चालनका लागि विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको हो । छलफलमा हेटौंडा उपमहानगरपालिकाले सबै विद्यालयहरुले कुन–कुन विकल्पबाट पढाई सञ्चालन गर्न सकिन्छ भनेर लिखित रुपमा विकल्प पेश गर्न लगाएको थियो ।
प्रधानाध्यापकहरुले विद्यार्थी संख्या, भौतिक अवस्था हेरेर एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग–अलग समयमा कक्षा सञ्चालन गर्ने, घन्टी अवधि घटाउने, अवस्था हेरी कक्षा सञ्चालन गर्ने, जोर–बिजोर प्रणाली मार्फत कक्षा हुने, हप्तामा केही दिन, केही घण्टा कक्षा सञ्चालन गर्न सकिने विकल्प दिएका छन् । प्रधानाध्यापकहरुले कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १२ कक्षासम्म कसरी सञ्चालन गर्न सकिन्छ भनेर लिखित जवाफ दिएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत सरस्वती कोइरालाले बताउनुभयो ।
नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले दिएको विकल्पहरुको एउटा प्रतिवेदन बनाएर नगर शिक्षा समितिमा छलफल हुने उहाँको भनाइ छ । छलफलमा सबै विद्यालयहरु कसरी सञ्चालन गर्न सकिने, प्रधानाध्यापकहरुले दिएको विकल्पबारे छलफल हुने र विद्यालय सञ्चालन कसरी गर्ने निर्णय हुने उहाँले बताउनुभयो । छिट्टै हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने नीति सार्वजनिक गर्दैछ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अब हेटौंडाको विद्यालयहरु खुल्ने बताउनुभएको छ । प्रधानाध्यापकहरुलाई लकडाउनको समयमा पनि विद्यालय सञ्चालन गर्न तयारी बस्न कडा रुपमा निर्देशन दिनुभएको मेयर महतले अब स्थानीय तहले निर्णय गर्न सक्ने भएका कारण विद्यालय सञ्चालन गर्न ढिलाई नहुने बताउनुभयो । उहाँले जोखिमको मूल्यांकन गर्दै, विद्यालयको अनुगमन समेत गर्ने बताउनुभएको छ ।