हेटौंडाः बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरेको प्रदेश नमुना विद्यालय परियोजना कार्यक्रमलाई चालु आर्थिक वर्ष २०७७/०७८ मा पनि निरन्तरता दिएको छ । यस परियोजनाका लागि मकवानपुरका २ सहित प्रदेशका २० वटा विद्यालयलाई छनोट गरिएको छ ।

नमुना परियोजनाका लागि गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको थियो । यस वर्ष सो कार्यक्रमका लागि बजेट बढाएको छ । प्रदेश सरकारले नमुना परियोजनाका लागि यस आर्थिक वर्षमा २० करोड बजेट विनियोजन गरेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी रुद्रहरि भण्डारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा प्रतिविद्यालय ५० लाखको दरले बजेट प्रदान गरेको थियो । यस वर्ष प्रतिविद्यालय १ करोडको दरले बजेट प्रदान गरिने उहाँले बताउनुभयो ।

यस नमुना परियोजनामा परेका प्रदेशका २० वटा विद्यालयहरुले डिपिआर तयार गरेर ५ वर्षे गुरुयोजना बनाएर काम भैरहेको निर्देशनालयले जानकारी दिएको छ । विद्यालयको चौतर्फी विकासका लागि यो कार्यक्रम ल्याइएको हो । यसमा विद्यालयको भौतिक विकास, शैक्षिक विकास, सुशासन, खेलकुद, समुदाय र विद्यालय बीचको सम्बन्ध लगायतका सम्पूर्ण पक्षहरुको विकास गरिने सूचना अधिकारी भण्डारीले बताउनुभयो । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकाको भानु माध्यमिक विद्यालय र मनहरी गाउँपालिकाको महेन्द्र किरण माध्यमिक विद्यालय नमुना परियोजनामा परेको छ ।