हेटौंडाः मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका कर्मचारीलाई आर्थिक सहयोग गरिएको छ । भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरमा कार्यरत सवईन्जिनियर दिपेन्द्र अधिकारीको परिवारलाई कार्यालयका कर्मचारीहरुका तर्फबाट एक दिनको तलब बराबरको रकम सहयोग गरिएको हो । भूकम्प पुनर्निर्माण सम्बन्धी तीनवटै कार्यालय (भवन, शिक्षा र अनुदान) मा कार्यरत अन्य कर्मचारीहरुबाट संकलित तीन लाख १३ हजार तीन सय ७६ रुपैयाँ बिहीबार परिवारलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालसहित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का कर्मचारीहरु स्वर्गीय दिपेन्द्र अधिकारीको चितवनस्थित घरमै पुगेर परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । दिपेन्द्रकी आमा सीता अधिकारीलाई जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।पुनर्निर्माणको कार्यक्रमअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत दिपेन्द्रको गत असोज ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।
कोरोना संक्रमण भई चितवनस्थित घर जाने क्रममा दुर्घटना भएको हो । पीडाको समयमा सहयोग रकम पर्याप्त नभएपनि परिवारजनलाई सहानुभूति मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख तुलसीराम खर्बुजाले बताउनुभयो । सहयोग रकम हस्तान्तरणका लागि जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रशासन प्रमुख विष्णुप्रसाद अर्याल, लेखापाल दिपक गजुरेल, ईन्जिनियर रविन पाठक दिपेन्द्र अधिकारीको घर पुग्नुभएको थियो ।