हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको प्रशासकीय भवनको बुधबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले हालसम्म अस्थायी प्रशासकीय भवनबाट सेवा सञ्चालन भइरहेको गाउँपालिकामा सुविधासम्पन्न भवन निर्माणले सेवाप्रवाह प्रभावकारी हुने बताउनुभयो ।
गाउँपालिकाको आफ्नो सुविधासम्पन्न भवन निर्माणसँगै सेवाप्रवाह प्रभावकारी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले तोकिएको समयमै भवन निर्माण सम्पन्न गर्ने र भवनको गुणस्तरमा ध्यान दिन आग्रह समेत गर्नुभयो । जिल्ला समन्वय समितिको मौजदात कोषबाट २ करोड रुपैयाँ अनुदान प्राप्त भएपछि गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न लागेको हो । जिससबाट प्राप्त २ करोड र गाउँपालिकाको १ करोड १८ लाख ५३ हजार रुपैयाँ गरी कुल ३ करोड १८ लाख ५३ हजार रुपैयाँ लागतमा २८ कोठे भवन निर्माणका लागि सिस्टमेटिक ईन्जिनियरिङ एसोसिएट कन्सल्टेन्सी प्रालि काठमाडौसँग सम्झौता भएर भवन निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष टंक मुक्तानले जानकारी दिनुभयो । मुक्तानका अनुसार आगामी २०७८ साल पुस ७ गते सम्पन्न गर्ने गरी भवन निर्माणको सम्झौता भएको छ ।
उहाँले गाउँपालिकाका १० वटै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन भएको अवस्थामा मुख्य प्रशासकीय भवन नहुँदा आएको समस्या अब समाप्त हुने बताउनुभयो । अस्थायी भवनबाट सञ्चालित प्रशासकीय भवन समेत केहि समयअघि आगलागी भएर समस्या भइरहेको अवस्थामा भवन निर्माणका लागि जिससबाट प्राप्त सहयोगप्रति खुसी व्यक्त गर्दै आभार समेत व्यक्त गर्नुभयो । गाउँपालिकाको प्रशासकीय भवन केहि समय अघि आगलागी भई पूर्ण रुपले क्षति भएको थियो ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि निशुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुलाई प्रमुख खुलालले सम्मान समेत गर्नुभएको थियो । प्रशासकीय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामलाल घलान, सिंगराम घलान र गोविन्द पाठकले जग्गादान गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवनका २ रोपनी साथै स्वास्थ्य चौकीका लागि सिंगराम घलानले ५ रोपनी र गोविन्द पाठकले २ रोपनी जग्गादान गर्नुभएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मालगायत कर्मचारीहरुको उपस्थिती थियो ।