हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधि र अधिकारीहरु वडा कार्यालयमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेका छन् । स्थानीय सरकार स्थापित भएसँगै अपाङ्गता परिचयपत्र वितरणको जिम्मेवारी पाएकाले साविकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपाङ्गता परिचयपत्र कार्डलाई अद्यावधिक समेत गर्ने गरी गाउँपालिकाले वडा वडामा पुगेर नयाँ कार्ड वितरण गर्ने र परिचयपत्र पाइसकेका अपाङ्गता भएका व्यक्तिको अहिलेको अवस्थाका आधारमा परिचयपत्र अद्यावधिक गर्ने कार्य गरिएको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिनुभएको छ ।
निश्चित समयपछि अपाङ्गता भएका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार आउने या अवस्था थप जटिल बन्ने भएकोले पालिकाले अपाङ्गताको अवस्थालाई अद्यावधिक गर्ने र नयाँ परिचयपत्र वितरणको कार्य पनि गरिएको उपाध्यक्ष रानाले बताउनुभयो । कार्तिक ५ गते भीमफेदी गाउँपालिकाको वडा नम्बर ६ मा १६ जनालाई परिचयपत्र वितरण गरेको भीमफेदी गाउँपालिकाले कार्तिक १९ गते ९ नम्बर वडामा तीन जनालाई परिचयपत्र वितरण गरिएको छ । यस्तै सोमबार ४ नम्बर वडामा १३ जनालाई परिचयपत्र वितरण गरिएको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष रानाले बताउनुभएको छ ।
गाउँपालिकाले सबै वडामा परिचयपत्र अद्यावधिक तथा वितरण गर्ने कार्य गर्ने जनाएको छ । अपाङ्गता परिचयपत्र वितरण तथा अद्यावधिक गर्दा सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिले पनि राज्यले प्रदान गर्ने सुविधा प्राप्त गर्ने अवस्था रहनेछ । गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वको समितिले अपाङ्गताको अवस्थाका आधारमा परिचयपत्र वितरण गर्नेछ ।