हेटौंडाः खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरिया वस्तीमा दश वटा ट्युबवेल सञ्चालनमा आएको छ । खोल्सा र कुलोको पानी प्रदुषित बन्दै गएपछि चिन्तित बनेका वनकरियालाई ट्युबवेल निर्माण गरिदिएपछि उनीहरुले खुसी व्यक्त गरेका छन् । आदिवासी मामिलाहरुका लागि अन्तर्राष्ट्रिय कार्य समूह (आईडब्लुजीआईए) को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युबवेल निर्माण गरिएको हो । २० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैयाँको लागतमा दश वटा ट्युबवेल निर्माण गरिएको हो ।
ट्युबवेलको मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काले आइतबार उद्घाटन गर्नुभएको छ । ट्युबवेल निर्माण गर्न सन्तोषी वनकारियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो । वनकरिया महिला विकास संघकी अध्यक्ष माया वनकरियाले ट्युबवेल निर्माण भएपछि भाडाँकुडाँ माझ्न, लुगा धुन सजिलो भएको बताउनुभएको छ ।
यसैबीच, कोरोना भाईरस (कोभिड–१९)का कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न वितरण गरिएको छ । १९ वनकारिया परिवारका महिलालाई प्रतिपरिवार चामल १ बोरा, तेल र नुन प्रदान गरिएको थियो । साथै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले वनकरिया समुदायमा भूमि अधिकारसम्बन्धी वकालत कार्यक्रम गरेको छ । कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजीकरण गर्नुभएको थियो । ट्वाङ्ग्रेडाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडा सचिव विदुर पाठकको पनि उपस्थिति रहेको थियो ।