हेटौंडाः हेटौंडा–१६ को ठूलो आकाशधारा र खाती टोलमा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा एकसय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलगायतले नवप्रवेशीलाई टीका र खादा लगाएर पार्टीको सदस्यता प्रदान गरेका थिए ।
हेटौंडा–१६ मा निर्वाचित वडाध्यक्ष एवम् कांग्रेसका वडा सभापति रामकृष्ण कोइरालाको अध्यक्षतामा पार्टी प्रवेश तथा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले मुलुकलाई खोक्रो बनाएको आरोप लगाउनुभयो । कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पुकांग्रेसमा १४५ जना प्रवेश पुर्याए पनि उनीहरुले जनताको भावनाअनुसार काम गर्न नसकेको बताउनभुयो । कांग्रेसबाट वडाध्यक्षमा निर्वाचन जितेपछि आकाशधारा पानीसरा क्षेत्रमा पानी, बाटो र बत्ति पुगेको स्मरण गर्दै कांग्रेस सधैं जनताको दुःखसुखको साथी रहेको उहाँको भनाइ थियो ।
नवप्रवेशीलाई सम्बोधन गर्ने क्रममा बानियाँले उनीहरुको क्षमता र क्रियाशीलताको आधारमा पार्टीमा भूमिका दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । दुबै कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल र नामदेव सिलवाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा–६ का निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको पनि उपस्थिति रहेको थियो ।