हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिकाका पशुपालन किसानलाई बोयर जातको बोका वितरण गर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७-०७८ को वार्षिक कार्ययोजना अनुसार बोका वितरण गर्न लागेको गाउँपालिकाका सहायक पशु प्राविधिक नविन कुमार अधिकारीले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडाका व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका फर्म तथा व्यक्तिलाई बोका वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बोका वितरण गर्ने जनाएको छ । कृषकले अनुदान प्राप्त गर्न वडा कार्यालयमै निवेदन दिन सक्नेछन् । प्रत्येक वडाका २ जना कृषकलाई ३० देखि ३५ केजीको एउटा बोयर जातको बोका वितरण गरिनेछ । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न लागेको यो कार्यक्रम गाउँपालिकाको नयाँ कार्यक्रम भएको सहायक पशु प्राविधिक अधिकारीले बताउनुभयो ।