हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित बाराही आधारभुत विद्यालयको भवन शिलान्यास गरिएको छ । नेपाल सरकार मातहतको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यावन्यन इकाई (शिक्षा) को ६८ लाख अनुदानमा निर्माण हुने ४ कोठे भवनको शिलान्यास गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकले बताउनुभयो ।
बुधबार एक कार्यक्रमकाबीच भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले भवन निर्माणको काम छिट्टै सकेर बालबालिकाले सुरक्षित स्थलमा पढ्न पाउने र त्यसबाट अभिभावक र समुदायमा खुशियाली छाउने बताउनुुभयो । शिक्षकको सङ्ख्या कम भयो भन्ने गुनासोपछि गाउँपालिकाले २ जना शिक्षकको दरबन्दी थप पठाउने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष लामाले भीमफेदी गाउँपालिकामा कक्षाकोठामै पठनपाठन सुचारु गरिएकोले स्वास्थ्य सुरक्षाको सतर्कता अपनाउन र सबै बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष जाहारसिं लामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, विद्यालयका प्रधानाध्यापक विश्वप्रसाद पुडासैनीका साथै स्थानीय अभिभावकको उपस्थिति रहेको थियो । ८ कक्षासम्म पठनपाठन हुने बाराही आधारभुत विद्यालयमा १ सय १० विद्यार्थी अध्ययनरत छन् ।