हेटौंडाः मकवानपुर जिल्ला अदालतका ९ जना कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै १० दिनका लागि अत्यावश्यकबाहेक सबै सेवा रोकिएको छ । अदालत व्यवस्थापन समितिको बैठकले बुधबारदेखि कार्तिक २८ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ ।

मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थ भट्टराईका अनुसार मकवानपुर न्यायाधीशसहित जिल्ला अदालतमा कार्यरत ५५ जनामध्ये ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो । आजैबाट नियमित पेशीमा रहेका मुद्दाको सुनुवाई कार्य, बकपत्र गराउने कार्य र तारिख सम्बन्धी सम्पूर्ण कार्य बन्द गरिएको जिल्ला अदालतले जनाएको छ ।

यस्तै पक्राउ पुर्जी, म्याद थप, अभियोगपत्र दर्ता, उपस्थित प्रतिवादीको वयान लिई थुनछेकको कार्य लगायतका अत्यावश्यक सेवा भने सुचारु रहनेछ ।