हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७-०७८ मा ३ सय ५७ वटा योजनाहरु कार्यान्वयन गर्दैछ । जसमा १ सय ६९ वटा योजनाहरु उपभोक्ता समिति मार्फत हुने भएका छन् । त्यस्तै ३८ वटा योजनाहरु ठेक्का मार्फत सम्पन्न गर्न योजना बनाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिनुभएको छ ।

मनहरी गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन् । गाउँपालिकाले ९ वटा वडाहरुमा उपभोक्ता समिति मार्फत हुने योजनाहरुको बजेट सहितको विवरण निकालेर सबै उपभोक्ता समितिलाई समिति गठन गरेर योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईका अनुसार गाउँपालिकाले यस वर्ष सामाजिक विकास तर्फ १ सय ५० वटा कार्यक्रमहरु गर्ने भएको छ । जसमा विभिन्न तालिमहरु, गोष्ठी, सेमिनार, अन्तरक्रिया, अनुदान लगायतका कार्यक्रमहरु रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले वडाहरुका १० लाख भन्दा तलको योजनाहरुलाई उपभोक्ता मार्फत गर्नको लागि उपभोक्ता समिति गठन गरेको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष साधुराम अधिकारीले आफ्नो वडाको भौगोलिक अवस्था लाम्चो आकारको भएकोले धेरै योजनाहरु र धेरै बजेट विनियोजन गर्न परेको बताउनुभयो । वडा नम्बर ९ मा यस वर्ष २५ वटा योजनाहरु उपभोक्ता मार्फत समपन्न गरिने वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँले यो आर्थिक वर्षमा वडाका प्रत्येक टोलमा बाटोको सुविधा विकास गरिने जानकारी दिनुभयो । वडा नम्बर ९ मा आर्थिक वर्ष २०७७-७८ मा ९ वटा सडकमा स्ल्याब ढलान गरिने भएको छ । त्यस्तै ३ वटा सडकलाई स्तरीकरण गरिने भएको छ । वडा अध्यक्ष साधुराम अधिकारीले भुगोल लाम्चो भएकै कारण बाटोका योजना धेरै रहेको बताउनुभयो । त्यसैगरी वडामा बाटो निर्माण र ग्राभेलिङका योजनाहरु पनि रहेका छन् । वडामा ढल निर्माण र खानेपानीका योजनाहरु पनि रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।मनहरी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७७-७८ मा स्ल्याब ढलानका योजनाहरु धेरै रहेका छन् । सबै वडाका स्ल्याब ढलानका योजनाहरु उपभोक्ता समिति मार्फत सम्पन्न हुने भएका छन् ।