हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित यातायात व्यवस्था सेवा कार्यालय भोलि बुधबारबाट सुचारु हुने भएको छ । दशैं सकिएर कार्यालय खुले लगत्तै कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै कार्यालय बन्द भएको थियो । कार्यालयले आज एक सूचना जारी गर्दै भोलि बुधबारदेखि कार्यालय सुचारु हुने जनाएको छ ।
कार्यालयका १६ जना कर्मचारीमध्ये ३ जना कोरोना सङ्क्रमित भएपछि आइतबारदेखि कार्यालय बन्द थियो । सङ्क्रमित मध्ये दुईजना कर्मचारी सङ्क्रमणमुक्त भएसँगै सेवा सुचारु गर्न लागिएको कार्यालय प्रमुख भक्तबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।