हेटौंडाः हेटौंडा–१५ स्थित चुरियामाई माध्यमिक विद्यालयमा एकैदिन विद्यालय भवन शिलान्यास तथा उद्घाटन गरिएको छ । एक सोमबार कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नयाँ भवन निर्माणका लागि शिलान्यास गर्नुका साथै निर्माण सम्पन्न भवनको उद्घाटन गर्नुभएको छ ।
नेपाल सरकार मातहतको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यावन्यन इकाई (शिक्षा) को एक करोड ४० लाख रुपैयाँ अनुदानमा ४-४ कोठे भवन निर्माण भएको चुरियामाई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानले जानकारी दिनुभएको छ ।
यसैगरी जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६८ लाख अनुदानमा ४ कोठे भवनको शिलान्यास गरिएको छ । शिलान्यास भएको भवन चालु आर्थिक वर्षमा सक्ने योजना रहेको मोक्तानले जानकारी दिनुभयो । १२ कक्षासम्म पठनपाठन हुने चुरियामाई माध्यमिक विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।