हेटौंडा–६, गौरिटारस्थित राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको गौरिटार रंगशालामा स्थापना गरिएको आइसोलेसन वार्ड ।

हेटौंडाः विकसित मुलुकका लागि समेत टाउको दुखाईको विषय बनेको कोरोना भाइरस नेपालका लागि भने बेवास्ताको विषय भइरहेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसको सङ्क्रमण तीव्र भइरहँदा प्रदेश सरकार परीक्षणको जिम्मेवारीबाट पन्छिरहेको छ ।

प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उल्लेख्य वृद्धि भइरहँदा बागमती प्रदेश सरकारमातहतको हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन वार्ड भने रित्तिँदै गएको छ ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको दोहो¥याएर परीक्षण समेत नगर्ने भनिएपछि कोरोना भाइरस सङ्क्रमणको अवस्थाका बारेमा समेत यकिन अवस्था थाहा हुन कठिन छ । मध्य दशैंमा समेत हेटौंडा उपमहानगर क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमित थपिएका छन् । बडा दशैंको फुलपातीको दिनदेखि शनिबारसम्ममा हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ७७ जना सङ्क्रमित थपिएका छन् । ती मध्ये हेटौंडा उपमहानगर क्षेत्रका मात्रै दुई सय ३७ जना सङ्क्रमित छन् । व्यक्तिगत रुपमा, संस्थागत रुपमा भरतपुर या काठमाडौंमा गरिएको परीक्षणबाट सङ्क्रमण पुष्टि हुनेहरु पनि उल्लेख्य सङ्ख्यामा छन् ।

कोरोना भाइरस सङ्क्रमण यसरी तीब्र भइरहँदा सङ्क्रमितको निगरानी, सङ्क्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने र सङ्क्रमणको दर घटाउने विषयमा मकवानपुर जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारको प्रयत्न केही देखिँदैन । यस विषयमा प्रतिपक्षी दल र नागरिक समाजको तर्फबाट कुनै किसिमको चासो देखिएको छैन । शनिबार साँझसम्ममा हेटौंडा–६ गौरिटारस्थित आइसोलेसन वार्डमा ७ जना मात्रै बसेका छन् । शनिबार ७ जना डिस्चार्ज भएका र २ जना भर्ना भएको आइसोलेसन वार्डले जनाएको छ । गौरिटार आइसोलेसन १२० बेड क्षमताको रहेको छ । प्रदेश सरकारले आइसोलेसन वार्ड विस्तार गर्ने कार्य समेत गरिरहेको छ ।