हेटौंडाः मकवानपुरमा आज ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार हेटौंडा उपमहानगरपालिकाका ४ जना, बारा र धादिङ जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका २ जनामा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभएको छ ।
बडा दशैंको प्रमुख दिन सोमबार पनि २४ जनाले कोरोना भाइरस संक्रमण जाँचका लागि स्वाब दिन आएको चौलागाईले जानकारी दिनुभएको छ । कोरोना सङ्क्रमितको स्वाब सङ्कलन नगर्न भनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कोभिड–१९ फोकल पर्सन डा. पुरुषोत्तम सेढाईको निर्देशनपछि आज भने स्वाब सङकलन नगरिएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।