हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाबाट हराएका भनिएका एकै परिवारका ५ बालबालिका सोमबार भेटिएका छन् । कात्तिक ५ गते दिउँसो साढे ३ बजेदेखि हराइरहेका ५ बालबालिका दिदीको घरमा पुगेर बसेको पाइएको प्रहरी चौकी हात्तिसुडेका इञ्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णराम गौतमले जानकारी दिनुभएको छ ।
बकैया गाउँपालिका–३, चप्पाखरेका मानवीर स्याङ्तानका छोरीहरु १७ वर्षीया युनिषा स्याङ्तान, १३ वर्षीया निशा स्याङ्तान, ७ वर्षीया बिबिना गोले, १४ वर्षीया रोहिता स्याङ्तान र ३ वर्षीय छोरा काले गोले कात्तिक ५ गतेदेखि हराइरहेको भनी आमा बेलीमाया स्याङ्तानले आइतबार प्रहरीलाई जानकारी गराएकी थिइन् । जनप्रतिनिधिको समेत पहलमा खोजी गर्दा बकैया–९ स्थित दिदीको घरमा गएर बसेको भन्ने जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक गौतमले जानकारी दिनुभएको छ ।
प्रहरीको टोली बकैया–९ स्थित दिदीको घरतर्फ गएको बताइएको छ । घरमा झैझगडा भएपछि बालबालिकाहरु दिदीकोमा गएको प्रहरीको भनाइ छ । मानवीरको तीनवटी श्रीमति भएको र छोराछोरी पनि धेरै भएकोले खानलगाउन दिन आर्थिक अभाव हुँदा झैझगडा हुने गरेको स्थानीयको भनाइ छ ।