हेटौंडाः मकवानपुरमा आज थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सोमबार विहान पनि ३५ जनामा कोरोना पुष्टि भएको थियो । असोज र कात्तिकको विभिन्न गते संकलन गरिएको ८७ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ ।

सोमबार दिउँसो प्राप्त रिपोर्ट अनुसार १५ जना पुरुष र ९ जना महिलामा कोरोना पुष्टि भएको छ । आज हेटौंडा उपमहानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर चितवन र सुनसरी घर भई मकवानपुरमा बस्दै आएका १\१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

हेटौंडा ४ मा २ जना, हेटौडा ६ मा ७ जना, हेटौडा ८ मा १ जना र हेटौडा ५ मा ३ जना कोरोनाका सङ्क्रमितहरु थपिएका छन् । त्यस्तै थाहानगरपालिकामा ७ जना,मनहरी गाउँपालिकामा २ जना र राक्सिराङ गाउँपालिकमा १ जना कोरोनाका सङ्क्रमितहरु थपिएका छन् । यसअघि आज बिहान सार्वजनिक गरिएको विवरणअनुसार २१ जना पुरुष र १४ जना महिलामा संक्रमण देखिएको थियो । आज दिउँसो प्राप्त रिपोर्ट अनुसार १५ जना पुरुष र ९ जना महिला गरी आज मात्रै मकवानपुरमा जम्मा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।