हेटौंडाः हेटौंडा–१०, बसपार्कमा आजबाट नागरिक सहायता कक्ष (हेल्प डेस्कको) स्थापना भएको छ । बडादशै, तिहार र छठ पर्वमा यात्रुहरुको बढी भिडभाड हुने र यात्रुहरुको तुरुन्तै गुनासो समाधान गर्न आजबाट प्रहरीले नागरिक सहायता कक्ष संचालनमा ल्याएको हो ।

यात्रुहरुलाई बढी भाडा लिने, यात्रा गर्दा सामान चोरी हुने तथा बालबालिकाहरु हराउने जस्ता समस्याहरु धेरै हुने हुँदा उनीहरुलाई सहजीकरण गर्न हेल्प डेस्क संचालन ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै प्रहरीले छिट्टै काठमाडौं जाने सुमोमा पनि यसअघि बढी भाडा लिने गुनासो आएकोले पायक पर्ने स्थानमा हेल्प डेस्क स्थापना गर्ने भएको छ । मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डेका अनुसार त्यसबारे छलफल भइरहेको छ । यात्रुहरुलाई बढी भाडा दिन बाध्य पार्ने र बढी भाडा लिने सवारीलाई ट्राफिक प्रहरीले कारबाही गर्ने उहाँले बताउनुभयो ।