हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा रनिङ ट्र्याकको शनिबार नगर प्रमुख हरि बाहदुर महतले शिलान्यास गर्नु भएको छ । हेटौंडा उपमहानगरपालिकाको ४७ लाख रुपैयाँ लगानीमा रनिङ ट्र्याक बन्न लगेको हो ।
कार्यक्रममा नगर प्रमुख महतले हुप्रचौरमा दिनहुुँ सयौं मानिसहरु खेल खेल्न, मर्निङवाक गर्न, ज्येष्ठ नागरिकहरु घुम्न आउने ठाउँ भएकोले ट्र्याक निर्माण गर्न आवश्यक भएको बताउनुभयो । ट्र्याक निर्माणपछि हुप्रचौरको सुन्दरता बढ्नुका साथै यसलाई व्यवस्थित गरेर अघि लान सकेको खण्डमा स्थानीयस्तरमा हुने खेलहरु पनि खेल्न सकिने उहाँले बताउनु भयो ।
७४० मिटर रनिङ ट्र्याकसहित हुप्रचौरमा १५ वटा चौतारो र राती हिँड्डुल गर्न असहज रहँदै आएकोले चारैतर्फ २० वटा बत्ती रखिने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । शिलान्यास कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामालगायत प्रशिक्षक तथा खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।