हेटौंडाः हेटौंडाको दक्षिणकाली मन्दिर आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित सानोपोखरामा रहेको दक्षिणकाली मन्दिरमा बिहान बेलुका घुम्न जानेहरुको भिड लाग्ने गरेको छ । भक्तजनका साथै आन्तरिक पर्यटकहरु पनि शान्त वातावरण र हरियाली क्षेत्रको अवलोकन गर्न त्यहाँ पुग्ने गरेका छन् ।
नजिकिँदै गरेको दसैका लागि मन्दिरको तयारी सबै सकिएको छ । दशैं नजिकिएसँगै आन्तिरक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भक्तजनहरुका लागि खानेपानी, बिजुली, पार्किङ लगायतको सेवाको व्यवस्थापन गरिएको छ । यस्तै मन्दिर जाने बाटोमा सजावटको बत्तिहरु राखिएको छ भने फुलहरु छेउछाउमा रोपिएको छ ।
स्थानीय तथा निर्माण व्यवसायी विशालराज महतका अनुसार यो पटकको दशैमा नौ दिनसम्म लाग्ने नौरथामा भक्तजनहरुको धेरै भिडभाड हुने भएकोले मन्दिरमा भौतिक दूरीको पालना गर्न स्वयमंसेवकहरुको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
मन्दिरको व्यवस्थापनमा हाल स्थानीयले सहयोग गरिरहेका छन् । मन्दिर व्यवस्थापन समिति निर्माणको लागि विधान तयार भएपनि कोरोना महामारीका कारण अगाडि बढ्न नसकेको स्थानीय राजेश श्रेष्ठले बताउनुभयो । चाडबाडपछि छिट्टै मन्दिर व्यवस्थापन समिति चयन गरिने उहाँले जानकारी दिनुभयो । दक्षिणकाली मन्दिरमा भक्तजनका साथै जिल्ला बाहिरबाट पनि पर्यटकहरु पिकनिक खानको लागि आउने गरेका छन् ।