बोर्डको उपाध्यक्ष पदभार ग्रहण गर्नुहुँदै टिकाबल्लभ सापकोटा ।

हेटौंडाः बागमती प्रदेश सरकारले मङ्गलबार प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका टिका बल्लभ सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मङ्गलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । धुलिखेल नगरपालिका वडा नम्बर २ का सदस्य सापकोटाले वडा सदस्यको पदबाट राजिनामा दिएर उपाध्यक्ष हुनका लागि आवेदन दिनुभएको थियो ।

प्रदेश सचिवसरहको सेवा सुविधासहित कार्यकारी भूमिका निर्वाह गर्नुपर्ने पदमा वडा सदस्य सापकोटालाई ४ वर्षका लागि उपाध्यक्षमा नियुक्त गर्ने निर्णय मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष रहने बोर्डमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सदस्य तथा दुग्ध विकास बोर्डको निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव मतिना वैद्य जोशी संयोजकत्वको सिफारिस समितिले सोमबार कार्ययोजनाको प्रस्तुती र अन्तरवार्तापछि प्रदेश मन्त्रीपरिषद्लाई तीनजनाको नाम सिफारिस गरेको जनाएको छ । मन्त्रालयकी सचिव मतिना वैद्य जोशीले सापकोटासहित ललितपुरका कृष्णप्रसाद सापकोटा र नुवाकोटका रामकुमार कार्कीको नाम सिफारिस गरेको जानकारी दिनुभएको छ । तर, नुवाकोटका रामकुमार कार्कीले भने आफू सहभागी नै कार्ययोजना प्रस्तुती र अन्तरवार्तामा सहभागी नै नभएको बताउनुभयो । कम्तिमा तीनजनाको नाम सिफारिस गर्नुपर्नेमा दुईजनाको मात्रै नाम सिफारिस हुनु कानुन विपरित भएको अर्का उम्मेद्वार कृष्णप्रसाद सापकोटाको भनाइ छ ।

विद्यावारिधी उपाधी हासिल गर्नुभएका निजामती सेवाबाट गत फागुनमा सेवानिवृत्त हुनुभएका पशुचिकित्सक डा. रामकुमार कार्कीले वडा सदस्यको आवेदनको विषयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा निवेदन दर्ता गराउनुभए पनि उक्त निवेदनको कुनै सुनुवाई नभएको र प्रदेश सरकारले उपाध्यक्ष नियुक्तिका लागि व्यक्ति तयार गरिसकेको भन्ने बुझेपछि आफूले कार्ययोजना प्रस्तुतीमा सहभागिता नजनाएको स्पष्ट पार्नुभयो । आइतबार प्रदेशको राजधानी हेटौंडा आइपुग्नुभएका डा. कार्कीले नियुक्तिको प्रक्रिया नियोजित देखिएपछि आफू सोमबारका लागि तोकिएको कार्ययोजना प्रस्तुतीको कार्यक्रममै सहभागी नभएको बताउनुभएको छ ।

बोर्डको उपाध्यक्ष नियुक्त हुनुभएका टिका बल्लभ सापकोटाले भने आफूले योजना बनाएर काम गर्ने बताउनुभएको छ । उहाँले किसानलाई व्यावसायिक बनाएर व्यावसायिक उत्पादनमा जोड दिने बताउनुभएको छ । वडा सदस्य भएर बोर्डको उपाध्यक्ष पदमा उम्मेद्वार बनेको विषयमा जिज्ञासा राख्दा सापकोटाले वडा सदस्य पदबाट राजिनामा गरेर उम्मेदवारी दिएको बताउनुभएको छ । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जु श्रेष्ठले पनि सापकोटाले भदौ १३ गते राजिनामा दिनुभएको र राजिनामा स्वीकृत समेत भइसकेको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले २ वर्षअघि नै प्रदेश दुग्ध विकास बोर्ड ऐन पारित गरे पनि उपाध्यक्ष नियुक्त गर्न सकेको थिए । २०७५ साल असोज ४ गते प्रदेश प्रमुखले ऐनको प्रमाणीकरण गरेपछि लागु भएको थियो । कार्यकारी भूमिका निर्वाह गर्नुपर्ने प्राविधिक क्षेत्र भए पनि ऐनमा बोर्डको उपाध्यक्षको शैक्षिक योग्यता समेत तोकिएको छैन । ऐनको मस्यौदाको क्रममा शैक्षिक योग्यताको कुरामा कम्तिमा स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न भनिए पनि शैक्षिक योग्यतालाई बेवास्ता गरिएको बताइएको छ । गत भदौ २ गते बोर्डको उपाध्यक्षका लागि आवेदन आव्हान गर्दा पनि आवेदन दस्तुरवापत १० हजार रुपैयाँ शूल्क राखिएकोप्रति पनि आवेदकहरुको असुन्तष्टि छ ।

यसैबीच प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने निर्णय गरेको जनाएको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने र भैसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।