जाइकाको सहुलियत ऋणमा निर्माण भई हस्तान्तरण भइसकेको थाहा नगरपालिका–११, टिस्टुङस्थित बागेश्वरी माविको भवन । फाइल तस्वीर ।


हेटौंडाः जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा मकवानपुरका थप ११ वटा विद्यालयमा शैक्षिक भवन निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पमा अति प्रभावित मकवानपुरसहित १४ जिल्लामा यसअघि टेण्डरमार्फत विद्यालय भवन निर्माण गर्ने क्रममा बचत भएको रकमले मकवानपुरका ११ विद्यालयको शैक्षिक भवन निर्माण गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले जनाएको छ ।

जाइकाले हेटौंडा–६, गौरिटारस्थित बालजागृति युवा वर्ष मावि ९ कोठे, हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्रमा मावि २१ कोठे, हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविमा ९ कोठे, हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा १८ कोठे, भीमफेदी गाउँपालिकाको इपास्थित पञ्चकन्या माविमा १७ कोठे, मनहरी गाउँपालिकास्थित भोजसिद्ध माविमा ६ कोठे, राक्सिराङ गाउँपालिकाको सिलिङेस्थित राष्ट्रिय माविमा १२ कोठे, बकैया गाउँपालिकाको भीरकोटस्थित जनक माविमा १७ कोठे, बागमती गाउँपालिकाको फापरबारीस्थित चौरा आधारभूत विद्यालयमा ९ कोठे, बेतिनीस्थित बाघभैरव माविमा ६ कोठे, थाहा नगरपालिकाको बज्रबाराही माविमा ११ कोठे शैक्षिक भवन निर्माण हुने भएको छ । शैक्षिक भवनसँगै जाइकाले शौचालय र विद्यलायको घेराबार समेत गरिदिने छ ।

यसअघि मकवानपुर जिल्लामा तीन चरणमा जाइकाले ४१ वटा विद्यालय भवन निर्माण सुरु गरेर २७ वटा निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण समेत गरिसकेको छ । १४ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन अवस्थाका १४ मध्ये पनि ६ वटा विद्यालय निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै हस्तान्तरण हुने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकले जानकारी दिनुभएको छ । उहाँका अनुसार जाइकाले चौथो चरणमा मकवानपुरका ११ वटा विद्यालय भवन निर्माण गरिदिन टेण्डर आव्हान समेत गरिसकेको छ । अबको २ महिनाभित्र निर्माण कार्य नै सुरु हुने गरी टेण्डरको प्रक्रियाबाट जाइकाले निर्माण कम्पनि छनोट गर्ने बताइएको छ ।