हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले पोषण सम्बन्धी वार्षिक समीक्षा र भावी कार्ययोजना बारे छलफल गरेको छ । असोज २१ र २२ गते गाउँपालिकाले छलफल गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनाम थिङले बताउनुभयो ।
पहिलो दिन आर्थिक वर्ष २०७६-७७ को लक्ष्य, प्रगति, लक्ष्य प्राप्तिका लागि के कस्ता कार्यहरु भए, के कस्ता समस्याहरु आए भन्ने विषयका समीक्षा प्रस्तुत गरिएको थियो । यस्तै दोस्रो दिन चालु आर्थिक वर्ष २०७७-७८ को वार्षिक कार्ययोजना तयार गरिएको थियो । पोषण सम्बन्धी जनचेतना, बालबालिका जोख्ने, गर्भवती महिलालाई सर्वोत्तम पिठो वितरण गर्ने, आइरन चक्की सहजै उपलब्ध गराउने जस्ता कार्ययोजना तयार पारिएको गाउँपालिकाका स्वास्थ्य संयोजक थिङले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका ८ वटा स्वास्थ्य संस्थाबाट एक जना कार्यालय प्रमुख र फोकल पर्सन त्यस्तै गाउँपालिकाका प्रमुख र वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।